एसियाली मूलका नागरिकमाथि आक्रमणका घटना बढेपछि बाइडेनद्वारा नयाँ विधेयकमा हस्ताक्षर

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै त्यसलाई रोक्न बिहीबार एउटा विधेयकमा हस्ताक्षर गरेका छन् ।

घृणा र जातिभेद जस्ता गतिविधिहरु अमेरिकामा बढ्नुका साथै कतिपय एसियाली मुलका अमेरिकीमाथि सार्वजनिक स्थलमै आक्रमण हुन थालेपछि अमेरिकामै चिन्ता व्यक्त गर्न थालिएको थियो । डेमोक्रेट र रिपब्लीकन पार्टीका कैयौं सांसदले एसियाली मुलका व्यक्तिमाथि भइरहेका आक्रमण रोक्न ल्याइएको विधेयकलाई समर्थन गरेका थिए ।

ह्वाइट हाउसमा बिहीबार विधेयक प्रमाणीकरण समारोहमा ठूलो संख्यामा सांसदहरु पनि उपस्थित भएका थिए । गत अप्रिलमै माथिल्लो सदन सिनेटले ९४–१ ले पारित गरेको उक्त विधेयकलाई यसै साता अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ३६४–६२ मतान्तरले अनुमोदन गरेको थियो ।

राष्ट्रपतिको चुनावी सभाहरुमा अमेरिकी जनतालाई एकताबद्ध गर्ने पटकपटक बताउँदै आएका राष्ट्रपति बाइडेनले विधेयक प्रमाणीकरण कार्यक्रममा पनि घृणा र जातिभेदलाई सबैले मिले परास्त गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ कानुनले न्याय विभागलाई कुनै पनि किसिमका घृणाजन्य अपराधका विषयमा समीक्षा गर्ने बाटो खुलेको छ ।

कानुन कार्यान्वयन गर्ने निकायहरुलाई कुनै अपराध घृणाजन्य कार्य हो वा होइन भन्ने बारेमा अनुसन्धानमा मद्दत गर्न संघीय आर्थिक सहायता प्राप्त हुनेछ । कतिपय यस्ता घटनाहरुलाई विगतमा कानुनी दायरामा ल्याउने गरिएको थिएन ।

तर कतिपय अधिकारकर्मीहरुले यस विषयलाई कानुन कार्यान्वयन गर्ने निकायको जिम्मेवारीमा छाड्न नहुने बताएका छन् । त्यस अवसरमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले कोरोनाभाइरस महामारी शुरु भएयता एसियाली र प्रशान्त क्षेत्रका मानिस र उनीहरुका व्यवसायलाई लक्षित गरी चक्कु प्रहार गर्ने, गोली चलाउने र अन्य किसिमका आक्रमण गर्ने गरिएको चर्चा गरेका छन् । उपराष्ट्रपति ह्यारिसले यस्ता घटनाहरु झण्डै छ गुणाले बढेको जानकारी दिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *