USAID

सीसीएमसी खारेज गर्न माओवादीको माग, प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय संयन्त्र बनाउन आग्रह


काठमाडौं । नेकपा माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) खारेज गर्न सरकारसँग माग गरेको छ । बिहीबार पेरिसडाँडाँस्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माग गरेको हो ।

विपत सम्बन्धी घटनाहरु हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भएपनि तिनलाई काम गर्न नदिई कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसीमार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग बैठकले निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गत यस प्रकारका जोखिमहरुको बारेमा काम गर्ने निकाय भएपनि तिनलाई काम गर्न नदिइ छुट्टै सीसीएमसी खडा गरेर त्यसलाई अलग्गै कानुनी हैसियत नभएको संरचनामार्फत् अनियमितता, भ्रष्टाचार, सामग्री दुरुपयोग भइरहेको माओवादीले ठहर गरेको छ ।

माओवादीले सरकार एक्लैले कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्भव नहुने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाज समेतको संलग्नतामा सर्वदलीय र सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने पनि बताएको छ ।

बैठकले अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको आपूर्ति, सरकारी तथा निजी अस्पतालहरुको क्षमतावृद्धि, कोभिड संक्रमितलाई आवश्यक बेडको वृद्धि र आइशोलेसन, आईसियु, भेन्टिलेटर लगायतको क्षमता विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई जोखिम भत्ता उपलब्ध गराउन तथा तिनका परिवारलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिएको छ ।

माओवादीले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्ध लड्ने टिम बनाउने र ३ लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने पनि नेता पुनले जानकारी दिए । माओवादीले ५ दिनभित्र प्रदेश, जिल्ला र वडा तहसम्म पुगेर समिति गठन गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यसबारेमा सम्पूर्ण जानकारी शुक्रबार पत्रकार सम्मेलन गरी दिइने पनि नेता पुनले बताए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *