USAID

चीनको तिब्बत जनसरकारले पनि अनुदानमा दियो अत्यावश्यक स्वास्थ्य सामग्री

  • 562
    Shares

काठमाडौँ । चीनको तिब्बत जनसरकारले नेपाललाई आज लिक्विड अक्सिजन, भरिएकाे अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ल्हासास्थित नेपाली महावाणिज्यदूताबासमा आयोजित एक कार्यक्रममा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष चियाङ चेले ती स्वास्थ्य सामग्री नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरलगत्तै १५० वटा सिलिण्डरमा भरिएकाे ३० मेट्रिकटन लिक्विड अक्सिजन ल्हासाबाट ढुवानी भइरसकेको र भोलि शुक्रबारसम्म तातोपानी पुग्ने बताइएकाे छ । यसबाट ४० केजी क्षमताका ६ हजार अक्सिजन सिलिडर भर्न सकिने ल्हासास्थित नेपाली महाबाणिज्यदूताबासले जनाएकाे छ ।

काठमाडाैँस्थित चिनियाँ राजदूत हाै यानछिका अनुसार तिब्बत जनसरकारबाट अनुदानमा प्राप्त आकस्मिक स्वास्थ्य सामग्रीमा ८ सय वटा भरिएका अक्सिजन सिलिण्डर, २०० आइसीयू बेड, पाँच वटा भेन्टिलेटर, १० थान अक्सिजन कन्सन्ट्रेटर, १५ हजार एन्टिजिन किटलगायत छन् ।

नेपाली नियोगकै अनुरोधमा शान श्रीस्थित एक कम्पनीले उपलब्ध गराएको ३० थान अक्सिजन कन्सन्ट्रेटर पनि भोलि नै ल्हासाबाट काठमाडौँतर्फ पठाउने तयारी भइरहेको छ । ल्हासाबाट काठमाडौँसम्मको ढुवानीको व्यवस्थापन सिल्क ट्रान्सपोर्टले निःशुल्क गरिदिने भएको छ । त्यसैगरी तिब्बत गुडवील फाउण्डेसनले अर्काे हप्ता ५० वटा कन्सन्ट्रेटर उपलब्ध गराउने बताइएकाे छ ।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले केही समयअघि नेपाल, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंकाका विदेशमन्त्रीसँगको भर्चुअल बैठकमा नेपाललाई कोरोना महामारीविरूद्ध लड्न चीनकाे केन्द्रीय तथा स्थानीय सरकार एवम् विभिन्न संस्थाले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धताअनुसार तिब्बत जनसरकार तथा त्यहाँ संघसंस्थाले ती सामग्री उपलब्ध गराएका हुन् ।

यसअघि तिब्बतको सदरमुकाम शहर ल्हासा नगरपालिकाले सहयोगस्वरुप पठाएको चारवटा भेन्टिलेटर पाँच दिनअगाडि मात्रै काठमाडौँ महानगरपालिकामा पुर्याइएको थियो । ती भेन्टिलेटरको मूल्य ८ लाख चिनियाँ युवान (झण्डै १ करोड ५० लाख रुपियाँ) बराबर रहेको ल्हासा जनसरकारले जनाएको छ । काठमाडौँ र तिब्बत शहरबीच भगिनी सम्बन्ध स्थापित छ ।

सिछुवान प्रान्तीय जनसरकारले अनुदानकै रूपमा ३ दशमलव ६ मिलियन चिनियाँ युवान (५ करोड ५८ लाख रूपियाँ) बराबरका झण्डै ४ टन मास्क, ४ टन पीपीइ, थर्मोमिटरलगायतका स्वास्थ्य सामग्री नेपाल पठाएको थियो । सिछुवान जनसरकारले आफ्नै खर्चमा सिछुवान एअरको विमान कार्गे गरी हिजो बुधबार नै ती सामग्री काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुर्याइदिएको थियो ।

 


  • 562
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *