इजरायललाई युद्धविरामका लागि बाइडनको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष उल्लेखनीय मत्थर हुने आशा गरेको बताएका छन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडनले युद्धविराम तर्फको मार्ग खुलेको हेर्न चाहेको जनाएको छ ।

इजरायलको बलियो समर्थक अमेरिकाले हालसम्म त्यहाँको लडाइँबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा कुनै संयुक्त वक्तव्य जारी हुन दिएको छैन । राष्ट्रपति बाइडनको आह्वानको प्रतिक्रियामा प्रधानमन्त्री नेतान्याहुले चाहिँ इजरायली नागरिकहरूका निम्ति शान्ति सुरक्षा बहाली नभएसम्म सैन्य कारबाही जारी राख्ने दृढता व्यक्त गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लडाइँ सुरु भएको १० औँ दिनमा पनि प्यालेस्टिनी विद्रोहीहरूद्वारा रकेट प्रहार अनि इजरेली सेनाद्वारा हवाई आक्रमणको सिलसिला जारी छ । बुधबार लेबननबाट चारवटा रकेट इजरायलमाथि प्रहार गरियो। बदलामा लेबननी क्षेत्रका कैयौँ निशानामा इजरेली सेनाले गोलाबारी गरेको थियो । यसले लडाइँलाई थप चर्काउने हो कि भन्ने प्रस्ट भएको छैन ।

हमासका एक वरिष्ठ अधिकारीले इजरेलसँग आगामी दुई दिनभित्र युद्धविराम हुने आशा व्यक्त गरेका छन् । मुसा अबु मार्जुकले लेबननको टीभीसँग गरेको टिप्पणीले गोप्य रूपमा भइरहेका कुराकानी सफलताउन्मुख भएको देखाउँछ ।

गाजाको नियन्त्रण गर्दै आएको हमास समूहले इजरेललाई उक्त क्षेत्रबाट पछि हट्न चेतावनी दिँदै रकेट प्रहार गरेको थियो । बदलामा इजरेलले हवाई हमला थालेको थियो । एक सयभन्दा धेरै महिला तथा बालबालिकासहित गाजामा २२७ जनाको ज्यान गइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

तीमध्ये १५० जना विद्रोही लडाकू भएको इजरायलले दाबी गरेको छ । इजरायलमा दुई बालबालिकासहित १२ जनाको ज्यान गएको बताइएको छ । इजरायलका अनुसार गाजाबाट विद्रोहीहरूले इजरायलतर्फ चार हजार रकेट प्रहार गरिसकेका छन् ।

बुधबार राष्ट्रपति बाइडनले सङ्घर्ष सुरु भएयता चौथो पटक प्रधानमन्त्री नेतान्याहुलाई फोन गरेका थिए । अमेरिकाले युद्धविरामको आह्वान गर्दै आएको छ। तर उसले राष्ट्रसङ्घमा कुनै पनि संयुक्त वक्तव्य जारी हुन भने दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *