एजेन्सी । रियल म्याड्रिडले शनिबार घरेलु मैदानमा भिल्लारियलसँग खेल्दै सिजनको अन्त्य गर्दैछ । सम्पुर्णको ध्यान उक्त खेलले तानेको छ । तर शनिबारको खेलमा जस्तोसुकै नतिजा आएपनि आउने दिनमा क्लबले केहि ठुला निर्णयहरु लिनुपर्ने देखिएको छ ।
त्योपनि ठुला नामसँग सम्बन्धित । क्लबका प्रमुख खेलाडी सेर्जियो रामोस, राफेल भरान, मार्सेलो, इस्को, लुकास भास्क्वेजसँगै प्रशिक्षक जिनेदिन जिदानले यस सिजन म्याड्रिड छाड्ने कुराले ट्रान्सफर बजारमा ठूलो हलचल ल्याउने देखिएको छ । जिदान क्लबमा रहे नरहेपनि अर्को सिजन म्याड्रिडको ड्रेसिङ रुममा ठूलो परिवर्तनको सम्भावना रहेको छ ।

महत्त्वपूर्ण कुरा त के छ भने, कप्तान सेर्जियो रामोसको सम्झौतापनि यहि जुनमा सकिदैछ तरपनि उनले क्लबसँग नयाँ सम्झौता गरेका छैनन् । रामोसले आफ्नो सम्झौतामा दुई वर्ष थप्न चाहिरहेका छ्न् तर अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मात्र एक वर्षको सम्झौताको प्रस्ताव गरेका छन् ।
३५ वर्षिय रामोस भिल्लारियलविरुद्धको अन्तिम खेल खेल्नेमापनि ठूलो शंका रहेको छ । रामोस पुर्ण फिट नभएको अवस्थामा जिदानले नाचो र इडर मिलिटाओको जोडीलाई पुर्ण विश्वास गरेका छन् ।

यता राफेल भरानकोपनि म्याड्रिडसँगको दशक लामो सम्बन्ध यहि सिजनको अन्त्यमा सकिने सम्भावना रहेको छ । भरानको क्लबसँगको सम्झौता सन् २०२२ सम्मको रहेको छ । तरपनि उनले सम्झौतामा नविकरण गरेका छैनन् । क्लबले ७० मिलियन युरोसम्मको रकम पाएको खण्डमा भरानलाई क्लबाट बिदा गर्न गार्हो मान्नेछैन । म्याड्रिडले यहि समरमा बार्यन म्युनिखबाट डेभिड अलबा अनुबन्ध गर्दैछ ।
रामोसको जस्तै लुकास भास्क्वेजकोपनि यहि सिजनको अन्त्यमा सम्झौता सकिदैछ । तरपनि नयाँ सम्झौताको लागि उनी सहमत भएका छैनन् । म्याड्रिडको एकेडमीमा हुर्किएका लुकास सन् २०१५ मा क्लबमा फर्किएका थिए । त्यसयता उनी निरन्तर म्याड्रिडमा छन् ।

रियललाई चार च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भुमिका खेलेका इस्को र मार्सेलोपनि यस सिजन क्लब छाड्ने सम्भावना रहेको छ । सन् २०१८ देखि दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् । दुवैको सम्झौतामा एक वर्ष बाँकी रहेको अवस्थामा उनीहरुको उच्च तलबले गर्दा क्लबले दुवैलाई ट्रान्सफर बजारमा राखेको छ ।
जिदानको तेस्रो बिदाइ ?

जिदानले यस सिजनको अन्त्यमा क्लब छोड्ने विषयमा विदेशी सञ्चार माध्यमले समाचार छापिरहेका छ्न् । यसअघि सन् २००६ मा खेलाडी र २०१८ मा प्रशिक्षको रुपमा क्लब छोडेका जिदानले तेस्रो पटक क्लब छोड्ने सम्भावना रहेको छ ।
