सरकारको त्रुटिले धेरै संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ । चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत वर्षको पहिलो लहरमा ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको थियो ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको बताए । ‘नेपालको मृत्युदर दक्षिण एसियाका अन्य मुलुकको तुलनामा बढी छ । सरकारले राम्रो व्यवस्थापन गरेको भए यति धेरै मानिसको मृत्यु हुने थिएन’, उनले भने ।

सरकारले होम आइसोलेसनमा रहेकालाई हेरचाह गर्ने दायित्व निर्वाह नगर्दा मृत्यु हुनुनपर्ने उमेरकाको समेत ज्यान गएको उनले बताए । ‘सरकारले होम आइसोलेसनमा अक्सिजन घटेपछि अस्पताल जाऊ भन्यो । अस्पताल पुग्दा ७० प्रतिशत अक्सिजन घटिसकेको हुन्थ्यो । यस्ता बिरामीको अस्पताल पुगेको दुईचार घण्टामै ज्यान गयो’, उनले भने ।

शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा शेरबहादुर पुनका अनुसार पछिल्लो एक सातायता संक्रमितमध्ये २ प्रतिशतको मृत्यु भएको देखिन्छ। ‘हामीकहाँ जुनसुकै उमेर समूहका पनि धेरैको मृत्यु भयो तर २ प्रतिशतभन्दा माथि गएको छैन । अब सुधार पनि हुन सक्छ’, उनले भने । याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *