USAID

थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य नियमित, आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’


काठमाडौँ । कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कोभिड–१९ महामारीका कारण धेरैजसो विकास आयोजनाको काम ठप्प रहेको अहिलेको अवस्थामा थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित अगाडि बढिरहेको जानकारी दिए । सुरुङ खन्ने कामलाई निरन्तरता दिइए पनि महामारीकै कारण फ्लाई ओभर, पहुँचमार्ग निर्माणलगायतको काम तत्काल बन्द गरिएको जानकारी उनले दिए ।

आयोजनाका अनुसार निर्माणस्थलमै एम्बुलेन्स, अक्सिजन सिलिन्डर र मेडिकल टोलीसहितको २५ जना क्षमताको आइसोलेसन निर्माण गरिएको छ । आयोजनामा कार्यरत कसैलाई सङ्क्रमण भए वा लक्षण देखिए तत्काल छुट्टै राखिने व्यवस्था गरिएको छ ।

सुरुङ खन्ने कामलाई निरन्तरता दिन अहिलेसम्म निर्माण सामग्री अभाव नभएको बताउँदै उनले निषेधाज्ञाका कारण रातको समयमा आवश्यक निर्माण सामग्री ढुवानी गर्ने गरिएको जानकारी दिए । महामारीको सङ्क्रमण फैलिन सक्ने भएकाले आयोजनामा कार्यरत हरेक जनशक्तिलाई हरेक दिन आउने बेलामा ज्वरो र अक्सिजनको स्तर नाप्ने गरिएको छ । यसअघि मुख्य जनशक्तिका लागि आयोजना स्थलमै बस्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए ।

मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर र सहायक सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *