भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, मूल्य प्रतिडोज भारु एक हजार

भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।

डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका छन् । भारतमा डा रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी खोप आयात गरिरहेको छ ।

स्पुतनिक भी खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रति डोज ९४८ भारतीय रुपैयाँ तोकेको छ ।

कम्पनीले आगामी दिनमा खोपको संख्या अझ बढाउने जनाएको छ । स्पुतनिक भी खोप भारतमै उत्पादन हुन थालेपछि आपूर्ति पनि बढ्ने कम्पनीको भनाई छ । स्पुतनिक भी खोप भारतमा उत्पादन गर्न छ वटा विभिन्न कम्पनीसँग छलफल चलिरहेको बताइएको छ ।

डा रेड्डीज कम्पनीका सहअध्यक्ष एवं प्रवन्ध निर्देशक जी भी प्रसादले भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या तिब्र रुपमा वृद्धि भइरहेकाले जतिसक्दो चाँडो खोप व्यवस्था गर्न आफूहरुले पनि प्रयास गर्न लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *