काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोभिड नियन्त्रणका लागि सरकारलाई चार सुझाव दिएका छन् । बिहीबार सामाजिक संजालमार्फत भट्टराईले बिगतदेखिकै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो विस्फोट बन्न पुगेको बताएका हुन् ।
उनले यस्तो संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढदै गएर व्यवस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्ने बताएका छन् ।
यस्ता छन् भट्टराईले सरकारलाई दिएका सुझाव
१. अहिले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरीनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चीन सरकारलाई अनुरोध गर्नुपर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।
२. २०७२ को महाभूकम्पपछि जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्यो, एमाले, माओवादी र नेकाका बीचमा १६ बुंदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरि एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।
३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।
४. आर्थिक अभाव हुन नदिने । अन्य शीर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुविधा हाललाई स्थगित राख्ने ।
