लेभान्टेसँग रोकिदा बार्सिलोनालाई उपाधि होडमा धक्का

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिदा बार्सिलोनालाई उपाधि होडमा ठूलो धक्का लागेको हो ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सी, पेड्री र ओसुमाने डेम्बेलेले एक/एक गोल गरे । लेभान्टेको लागि गिन्जालो मेरेलो, जोसे लुइस मोरालेस र सेर्जियो लियोनले एक/एक गोल गरे । पहिलो हाफमा लिएको २-० गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिन बाध्य भएको हो ।

पहिलो हाफको २५ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा डेम्बेलेको पासमा पेड्रीले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोलले पछि परेको लेभान्टेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । ५७ औं मिनेटमा जोसे मिरामोनको पासमा मेरेलोले गोल गर्दै लेभान्टेलाई २-१ को स्थितिमा ल्याए ।

५९ औं मिनेटमा रोजरको पासमा मोरालेसले गोल गर्दै लेभान्टेलाई २-२ गोलको बराबरीमा ल्याए । ६४ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई विजयी बाटोतिर लम्काएका थिए । तर ८३ औं मिनेटमा टोनोको पासमा लियोनले गोल गर्दै लेभान्टेलाई ३-३ को स्थितिमा ल्याए । बाँकी समयमा थप गोल नहुँदा दुवै टोलीले एक/एक अङ्क बाढे ।

बराबरीमा रोकिएसँगै बार्सिलोनाले लिगको शिर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । हाल बार्सिलोना ३६ खेलबाट ७६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको एथ्लेटिको म्याड्रिड ७७ अङ्कको साथ शिर्ष स्थानमा छ भने रियल म्याड्रिड ७५ अङ्कको साथ तेस्रो स्थानमा छ । लेभान्टे भने ३६ खेलबाट ४० अङ्क जोड्दै १३ औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *