भ्युटावर र उद्यान बनाउने पैसाले एम्बुलेन्स खरिद गरिएको भए…

पूर्णप्रसाद न्यौपाने, ओखलढुंगा । कारोना सङ्क्रमितलाई अस्पताल लैजान जिल्लामा एम्बुलेन्सको समस्या भएको छ । जिल्लामा पर्याप्त एम्बुलेन्स नहुँदा र भएकाले पनि सङ्क्रमितलाई बोक्न नमान्दा नागरिकले आपत्कालीन अवस्थामा सेवा उपयोग गर्न नपाएका हुन् ।

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल लैजान समस्या भएको मोलुङ गाउँपालिका स्थानीयबासी रमा फुयालले गुनासो गरिन् । कोरोनाको लक्षण देखिएका बिरामी अरु सवारीले बोक्न नमान्ने र एम्बुलेन्स पनि नहुँदा उपचारमा लैजान समस्या भएको उनको भनाइ छ ।

“सङक्रमितलाई अरु गाडीले बोक्न मान्दा रहेनछन् । त्यो पनि निषेधाज्ञाको बेला एम्बुलेन्स बाहेकका सवारी चल्न दिँदैन रहेछ ।” उनले भनिन्, “जिल्लामा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं लैजाने भनेको एम्बुलेन्स नभएर लान सकिएको छैन । कोही कसैले सहयोग गर्न सक्नुहुन्छ भने कृपया यो विपद्काबेला सहयोग गरिदिनुहोला ।”उनले भने ।

कोरानाका लक्षण देखिएकाहरु स्बाँव सङ्कलन गर्ने ठाउँसम्म पनि पैदल हिडेर पुग्नुपर्ने अवस्था छ । एम्बुलेन्स बाहेक अन्य सवारी प्रयोग गर्न सकिने विकल्प भएपनि एम्बुलेन्समा जस्तो अक्सिजन सहितको सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई थप समस्या हुनेगरेको छ ।

निषेधाज्ञाको समयमा सार्वजनिक सवारी सञ्चालन हुन छाडेपछि एम्बुलेन्सको माग बढेको छ । माग बढेपनि जिल्लामा एम्बुलेन्सको सङ्ख्या न्यून छ । एम्बुलेन्स नहुँदा कोरोना बाहेकका अन्य रोगका बिरामीलाई अस्पताल जान पनि समस्या भएको छ ।

जिल्लाभर नौ एम्बुलेन्स भएपनि चार मात्र चालु अवस्थामा रहेका छन् । ती एम्बुलेन्सले माग अनुसार सेवा दिन सकेका छैनन् । केही निजीस्तरबाट र केही मात्र सरकारीस्तरबाट सञ्चालनमा रहेका एम्बुलेन्स महामारीका बेला पर्याप्त नभएका हुन् ।

एम्बुलेन्स अभावको आवाज उठेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लामा एम्बुलेन्सको अवस्था बुझ्न स्थानीय तह र सरोकारवालासँग भर्चुअल बैठक गरेको थियो । बैठकबाट जिल्लामा एम्बुलेन्सको अवस्था निकै न्यून रहेको र भएका एम्बुलेन्स पनि सबै सञ्चालनमा नरहेको पाईएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले जानकारी दिइन् ।

“जिल्लामा एम्बुलेन्सको साह्रै अभाव छ भन्ने गुनासो आयो । भएका पनि सञ्चालनमा छैनन् भन्ने सुनेपछि सरोकारवालाको बैठक राखेर छलफल गरियो ।” उनले भनिन्, “कोरोना महामारी बढिरहेका बेला एम्बुलेन्सको सेवा माग अनुसार मात्रै होईन तत्काल उद्धार गर्नुपर्ने बिरामीलाई समेत हुनेगरि एम्बुलेन्सहरु तयारी अवस्थामा राख्न समन्वय गरेको छु ।”

बैठकमा जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रजिअ राईले सम्भव भएसम्म बिग्रीएका एम्बुलेन्स तत्काल मर्मत गर्न, चालक नरहेकामा चालकको व्यवस्था गर्न र खरीदको प्रक्रियामा रहेका पालिकाहरुले अविलम्ब खरिद गर्न निर्देशन दिएकी छन् ।

आर्थिक वर्ष ०७६/०७७ मा सरकार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एम्बुलेन्स सेवालाई अनिवार्य बनाएको थियो । सो प्रावधान अनुसार महानगरपालिका र उपमहानगरपालिकामा चार/चार, नगरपालिकामा तीन र गाउँपालिकामा दुई एम्बुलेन्स अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये खिजीदेम्बा र चम्पादेवी गाउँपालिकासित मात्र एम्बुलेन्स छन् । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिका सहित जिल्लाको सुनकोशी, मोलुङ, लिखु, मानेभञ्ज्याङ, चिशंखुगढी गाउँपालिकामा एम्बुलेस छैनन् । एम्बुलेन्स नभएपनि वडाध्यक्ष सहितका गाउँपालिकाका सबैजसो जनप्रतिनिधि पदाधिकारी र अधिकांश कर्मचारीका लागि महंगा सवारी खरिद गरिएका छन् ।

सिद्धिचरण नगरपालिकाका सुचना अधिकारी नईन्द्रराज राईका अनुसार नगरपालिकाको बर्नालु स्वास्थ चौकीमा हाल एक एम्बुलेन्स सञ्चालनमा छ । त्यो पनि विदेशी संस्थाले सहयोग गरेको हो ।

नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गरेर नगरबासीलाई सेवा दिनेबारे कुनै पहल गरेको छैन । मोलुङ गाउँपालिका सित पनि एम्बुलेन्स छैन । पालिका क्षेत्र भित्र एम्बुलेन्स नभएकाले यातायात व्यवसायीसँग समन्वय गरेर सार्वजनिक सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने तयारी भईरहेको गाउँपालिका सूचना प्रविधि अधिकृत गोपाल नेपालले जानकारी दिए ।

उनका अनुसार मोलुङले कोभिडको सङ्क्रमण देखिएका बिरामीलाई अस्पताल लैजान सवारी सेवा निःशुल्क दिने निर्णय गरेको छ । बोलेरो जीपलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने मोलुङको तयारी छ ।

सुनकोशी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि नै एम्बुलेन्स खरीद गर्ने नीति कार्यक्रम नै बनाएको थियो । खरीद प्रक्रिया पूरा गरेको छैन । समस्यामा परेका बिरामीलाई सेवा दिन वैकल्पिक व्यवस्था गरिने गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले  जानकारी दिए ।

लिखु गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने तयारी गरेर पनि रोकेको छ । निकै झमेला भएकाले हाल खरिद प्रक्रिया रोकिएको गाउँपालिका अध्यक्ष गोविन्द पौडेलले जानकारी दिए । चिसंखुगढी गाउँपालिकाले भने एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।

सबै प्रक्रिया पुरा भइसकेकोले केही हप्ता भित्रै पालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने गाउँपालिकाका सूचना अधिकारी अस्मित राजभण्डारीले जानकारी दिए ।

“महामारीका बेला हाम्रो नगरपालिका र गाउँपालिकाहरुमा एउटा एम्बुलेन्स पछि छैन यो भन्दा दुखद् अवस्था अरु के हुन सक्छ ?” सिद्धिचरण ११ का स्थानीय थगेन्द्रराज राईले भने, “करोडौं खर्चेर भ्युटावर र उद्यान बनाउने स्थानीय सरकारले नागरिकका लागि एउटा एम्बुलेन्स किनेर सेवा लिएको भए कति राम्रो हुन्थ्यो ।”

एम्बुलेन्स सञ्चालनमा रहेका गाउँपालिका खिजीदेम्बा र चम्पादेवीका स्थानीयले भने आवश्यकता परेको बेला सेवा उपभोग गर्न पाएका छन् । एम्बुलेन्स अभाव रहेको जिल्लामा एउटा पनि शव बहान छैन । पोष्टमार्टम गर्नुपर्ने शव मंहगो भाडा तिरेर ट्याक्टरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *