नयाँ सरकार गठनको प्रक्रिया सुरु, राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई वैशाख ३० गते राति ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरेकी छन् ।

यसअघि सोमबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत मागेका थिए । तर संसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएन । प्रधानमन्त्रीका पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।

त्यसलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *