काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) दुई कित्तामा उभिएको छ । जसपा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतको प्रस्तावको विपक्षमा भोट दिने भएको छ । तर महन्थ ठाकुर—राजेन्द्र महतो पक्ष भने विश्वासको मतको विषयमा तटस्थ बस्ने भएको छ । भट्टराई–यादव पक्षले आइतबार साँझ छुट्टै बैठक गरी विश्वासको मतको प्रस्तावको विपक्षमा भोट दिने निर्णय गरेको हो ।
आफूहरूले प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिन राख्ने प्रस्तावको विपक्षमा भोट दिने निर्णय गरेको जसपा अध्यक्ष यादवले बताए । भट्टराई–यादव पक्षको बैठक बस्नुअघि भट्टराई निवास टोखामा जसपाका ६ शीर्ष नेताको बैठक बसेको थियो । उक्त बैठकमा जसपाका सांसदलाई ओलीको विपक्षमा भोट दिने या तटस्थ बस्ने विषयमा ह्विप नलाग्ने निर्णय भएको यादवले बताए ।
शीर्ष नेताहरूको बैठकपछि भट्टराई–यादव पक्षका नेताहरूको छुट्टै बैठक बसेको थियो। स्रोतका अनुसार शीर्ष नेताहरूको बैठकमा भट्टराई र यादवले प्रधानमन्त्री ओलीको विपक्षमा भोट दिनुपर्ने तथा ठाकुर र महतोले तटस्थ बस्नुपर्ने अडान राखेका थिए । फरकफरक धारणा आएपछि पार्टीका सांसदलाई ह्विप नलाग्ने निर्णय गरिएको नेताहरूले बताएका छन् ।
तर अध्यक्ष यादवले भने विपक्षमा भोट दिने या तटस्थ बस्ने भन्ने विषयमा मात्र ह्विप नलाग्ने निर्णय भएकाले पार्टीका सांसदहरूले पक्षमा भोट दिन नपाउने बताए । ‘ह्विप नलाग्ने भनेको विश्वासको मतको विपक्षमा भोट दिन या तटस्थ बस्ने विषयमा मात्र हो’, यादवले भने, ‘प्रधानमन्त्रीको पक्षमा भोट दिन जसपाका सांसदले पाउँदैनन् ।’
प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमा पूर्वराष्ट्रिय जनता पार्टीका १६ र पूर्वसमाजवादीका १६ जना छन् । पूर्वराजपाका सांसद तथा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव भट्टराई–यादव पक्षमा गएका छन् । भट्टराई–यादव पक्षका नेताहरूले आफ्नो कित्तामा १८ जना सांसद रहेको दाबी गर्दै आएका छन् ।
जसपा नेता महतोले आफूहरूले तटस्थ बस्ने निर्णय गरेको बताए । पार्टीका अर्का अध्यक्ष ठाकुर र नेता महतोले आइतबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरे । महतोेले विश्वासको मतको विषयमा तटस्थ बस्ने निर्णय प्रधानमन्त्रीलाई सुनाएको बताए । ‘पार्टीलाई फुटबाट जोगाउन हामी तटस्थ बस्ने निर्णय गरेका छौं’, महतोले भने, ‘यो निर्णय हामीले प्रधानमन्त्रीलाई सुनाएका छौं ।’ यसैगरी कांग्रेस सभापति देउवालाई पनि ठाकुर–महतोले तटस्थ बस्ने निर्णय गरेको बताएका थिए । देउवाले ठाकुर र महतोलाई प्रधानमन्त्रीको विपक्षमा भोट दिन आग्रह गरेका थिए।
ठाकुर–महतो पक्षका एक नेताले भने सांसदहरूले प्रधानमन्त्रीको पक्षमा पनि भोट दिन सक्ने बताए । ‘सांसदहरूलाई ह्विप नलाग्ने निर्णय गरेका छौं । सांसदले विश्वासको मतको पक्षमा पनि भोट दिन सक्नु हुनेछ । उहाँहरूलाई कारबाही हुँदैन’, ती नेताले भने । स्रोतका अनुसार आइतबार दिउँसोसम्म ठाकुर–महतो एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको निर्णय कुरेर बसेका थिए ।
तर नेपाल पक्षको स्पष्ट निर्णय नआअएछि ठाकुर–महतो पक्षले तटस्थ बस्ने निर्णय गरेको हो । ‘माधव नेपाल पक्षका सांसदले ओलीको पक्षमा भोट दिए भने हामीले पनि दिन्छौं । त्यसबेला प्रधानमन्त्रीको पक्षमा बहमुत पुग्छ’, ठाकुर–महतो पक्षका एक नेताले भने, ‘तर माधव नेपाल पक्षले भोट दिनुअघि सामूहिक राजीनामा गरे या विश्वासको मतको पक्षमा भोट नहाले हामीले मात्र दिएर पुग्दैन । यस्तो अवस्थामा हामी तटस्थ बस्छौँ ।’ प्रधानमन्त्रीको चाहना पनि यस्तै रहेको दाबी ती नेताले गरेको समाचार नागरिक दैनिकमा छापिएको छ ।
