तमिलनाडुमा सोमबारदेखि २ हप्ता लकडाउन गरिने

भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले आगामी सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने शनिबार घोषणा गरेको छ ।

भारतमा कोभिड–१९ सङ्क्रमण दरमा उच्च रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । उक्त राज्यमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च (२६ हजार सङ्क्रमित) भेटिएको एक दिनपछि यो निर्णय गरेको हो ।

राज्यका नवनिर्वाचित मुख्यमन्त्री एक के स्टालिनले भने, “तमिलनाडुमा मे १० तारिख विहान ४ बजेदेखि लागू हुनेगरी अतिआवश्यक सेवाबाहेक सबै क्षेत्रलाई दुई हप्ताका लागि पूर्णतया लकडाउन गरिएको छ ।”तमिलनाडुमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च देखिएपछि बन्दाबन्दी ‘अपरिहार्य’ भएका कारण यो निर्णय लिइएको उनले बताए ।

अधिकारीहरूले भने कि तालाबन्दी लगाउने निर्णय एक बैठकमा मुख्यमन्त्रीले प्राप्त गरेको सूचनाको आधारमा लिइएको हो । सरकारले जारी गरेको निर्देशन अनुसार बन्दाबन्दीका क्रममा बैंकलाई ५० प्रतिशत कर्मचारीद्वारा सेवा सञ्चालन गर्न पाइने छ भने खाद्यान्न तथा अतिआवश्यक अन्य सेवालाई कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका नियम पालना गर्दै जारी राख्न भनिएको छ ।
दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यक : केजरीवाल
दिल्लीले १८ वर्ष माथिका व्यक्तिलाई आगामी तीन महिनाभित्र कोभिड–१९ विरूद्धको खोप अभियान सम्पन्न गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । दिल्ली प्रशासनलाई थप दुई करोड ६० लाख कोभिड–१९ विरूद्धको खोप आवश्यक रहेको पनि उनले बताए ।

.उनले भने, “यदि हामीले खोपको पर्याप्त मात्रा पायौं भने तीन महिनाभित्र खोप पूरा गर्न सक्दछौं । दिल्लीमा १८ बर्षभन्दा माथिका नागरिकको सङ्ख्या एक करोड ५० लाख छ । दिल्लीमा कूल तीन करोड खोप आवश्यक रहेकोमा राज्य सरकारसँग ४० लाख खोप उपलब्ध रहेको र बाँकी दुई करोड ६० लाख मात्रा आवश्यक रहेको छ । सरकारले खोपको जोहो गरिरहेको छ ।”

मुख्यमन्त्रीले भने, ‘हाल दिल्लीले एक दिनमा एक लाख मानिसलाई खोप लगाइरहेको छ तर सरकारले यसलाई बढाएर प्रतिदिन तीन लाख खोप लगाउने योजना बनाइरहेको छ । छिमेकी शहरहरू फरीदाबाद, गाजियाबाद, सोनीपत, गुडगाउँ, नोएडाका धेरै मानिसहरूले दिल्ली सरकारको खोप व्यवस्थापनलाई मन पराएका कारण खोपका लागि दिल्ली आउने गरेका छन् । जे होस् हामीलाई खोपको पर्याप्त मात्रा उपलब्ध भएमा तीन महिनामा राष्ट्रिय राजधानीको सम्पूर्ण व्यक्तिलाई खोप लगाइ सक्नेछौं ।’

दिल्लीले हाल १८–४४ वर्ष उमेर समूहका व्यक्तिलाई विभिन्न १०० विद्यालयसहित अस्पतालबाट खोप सेवा उपलब्ध गराइरहेको छ । यस सेवालाई केही दिनमा नै ३०० विद्यालयबाट सञ्चालन गर्ने तयार मुख्यमन्त्री केजरीवालले बताए ।

राज्यले सोचे अनुसार खोप अभियान पूरा गर्न दिल्लीका लागि मासिक ८० देखि ८५ लाख खोप उपलब्ध हुनुपर्ने देखिन्छ । मुख्यमन्त्री केजरीवालले बालबालिकालाई खोप दिन नसकिएकोमा चिन्ता व्यक्त गर्दै भने, “मैले केन्द्र सरकारसँग पर्याप्त खोप उपलब्ध गराउनका लागि आग्रह गरेको छु । साथै बालबालिकालाई अहिले खोप लगाउन सकिएको छैन । म केन्द्र सरकार तथा विज्ञहरूसँग आग्रह गर्दछु कि छिट्टै उनीहरूका लागि पनि खोप तयार होस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *