काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप खरिदकाबारेमा सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएको छ ।
मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार विज्ञप्ति जारी गरी नेपालले खोप प्राप्तीका लागि कुटनीतिक तथा अन्य माध्यमबाट प्रयास गरिरहेको जनाएका हुन् । उनले भारतको सेरम इन्स्टिच्यूटले नेपाललाई खोप आपूर्ति गर्नु प्राथमिकता रहेको र कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा भएको अवरोधले ढिला भएको जानकारी दिएको उल्लेख गरेका छन् ।
मन्त्रालयले थप ५० लाख मात्रा कोभिशिल्ड खोप खरिद गर्ने अवस्था हाललाई नरहेको र अन्य कम्पनीका खोपले औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको र पाउनेक्रम रहेको जनाएको छ । कोभिशिल्ड खरिदका सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैंले निर्णय गर्ने भएकाले मन्त्रालयलाई संलग्न गरी आएका समाचारमा सत्यता नभएको गौतमले बताएका छन् ।