एमालेको विवाद मिलाउन राष्ट्रपतिको सक्रियता, माधव नेपालसँग भेटवार्ता

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद चरम उत्कर्षमा पुगेका बेला त्यसलाई मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता देखाएकी छन् । त्यसक्रममा बिहीबार राष्ट्रपति भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सर्वदलीय बैठकमा समेत शीतल निवास नगएका वरिष्ठ नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारीसँग नेता नेपालको के कुराकानी भयो भन्ने बाहिर आएको छैन । तर भेटमा एमालेभित्रको विवाद समाधानकाबारेमा कुराकानी भएको हुनुपर्छ ।

राष्ट्रपति भण्डारीसँग दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भेटवार्ता गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा नेकपा एमालेका नेताहरुबीच बहुपक्षीय छलफल चलिरहेको छ ।

एमालेको नेपाल पक्षले वैशाख २७ गते संसदमा ओलीलाई विश्वासको मत दिने नदिने अन्योल रहेको समयमा नेता नेपाल र राष्ट्रपति भण्डारी बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । २०७५ जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने नेपाल पक्षको अडान र त्यसमा नफर्कने ओलीको अडानका कारण एमालेमा तीब्र विवाद छ । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैछन् ।

माधव नेपाल पक्ष भने बरु सांसद पदबाट सामूहिक राजीनामा दिने तर ओलीका पक्षमा मत नहाल्ने खबर सार्वजनिक भइरहेका छन् । यसैबीच, ओली पक्षका नेता र नेता नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच बिहीवार पनि छलफल भएको छ । उनीहरु ओली र नेपाललाई वार्ता बसाएर निकास निकाल्ने प्रयासमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *