काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितहरू सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्य भन्छन्, “कोरोना सङ्क्रमित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।” अहिले कोरोनाको नयाँ स्वरूप पहिलेभन्दा फरक भएको अनुभव व्यक्त गर्दै उनले अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिने तथा अस्पतालमा आउन पनि अनुरोध गरे ।
“असजिलो हुँदा अस्पतालमा आउँदा केही बिग्रँदैन तर आफूलाई स्वास्थ्यमा समस्या छैन । कोरोनाको साधारण लक्षण मात्र छ भने घरमा आइसोलेसन नै राम्रो हुन्छ । अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुन्छ,” उनको सुझाव छ । उनका अनुसार शय्याको कमी अस्पतालमा छँदै छ तर धेरै बिरामीको अवस्था कठिन भएको देख्दा बिरामीको आत्मबलमा कमी आउँछ ।
“आज राम्रो भएको बिरामी भोलि सघन कक्ष (आईसीयू)मा पुग्दा आफू पनि पुग्ने हो कि भन्ने चिन्ता त छँदै छ आफ्नो मान्छेसँग भेट नहुनुको पीडा थप हुन्छ । त्यसैले घरमा सही तरिकाले आइसोलेसनमा बस्दा राम्रो हुन्छ भन्ने सुझाव दिएको हुँ,” डा शाक्यले प्रष्ट पारे ।
श्वासप्रश्वासमा कठिन, छाती भारी हुने, आँखा रातो हुने, रिङ्गटा लाग्ने, ज्वरो कम नहुने, दिसा लगातार लागिरहने जस्ता समस्या आए अस्पतालमा सम्पर्क गर्नुपर्ने उनको सुझाव छ । डा शाक्य भन्छन्, “घरको एकान्तबास बस्दा भेन्टिलेसन र खुला हावा आउने ठाउँ हुनु अनिवार्य छ । औषधि र खाना लिएर आउने मान्छेसँग सीधै सम्पर्कमा रहनबाट बच्नुपर्छ ।”
उनी थप्छन्, “घरमा अस्पतालमा जस्तो पीपीई हुँदैन त्यसैले परिवारको सीधै सम्पर्कमा आउनुहुँदैन । घरको सदस्यका साथ भाँडाकुँडा, ओछ्यान वा तौलियाजस्ता सामग्री साझा गर्नुहुन्न । खोकी वा हाच्छ्युँ आउँदा रुमालले नाक र मुख छोप्नुपर्छ । घरमा पनि मास्क अनिवार्य लगाउनुपर्छ ।”
कोरोना जितेर आउनुभएका ३५ वर्षीय युवक भन्छन्, “अस्पतालमा सुविधा सबै भए पनि मानसिक तनाव भने धेरै हुन्छ ।” अस्पतालमा १८ दिन बिताएका उनलाई १८ वर्ष जस्तो भएको अनुभव सुनाउँदै घरमा भए आत्मविश्वास बढ्ने बताउँछन् । राम्रो खानपान तथा स्वास्थ्यकर्मीको परामर्श पायो भने घरमा आइसोलेसन बसेको राम्रो हुने अनुभव उनले व्यक्त गरे ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्, “अहिले होम आइसोलेसन बस्नु भनेको बाध्यता हो । पहिले लक्षण नभएका सङ्क्रमित बिरामी पनि अस्पतालमा भर्ना हुन्थ्यो तर अहिले यस्तो अवस्था छैन । घरमा चिकित्सकको सुझाव लिएर बस्नु राम्रो हुन्छ । ” सामान्य लक्षणमात्र भएको बिरामीलाई अस्पतालमा ठाउँ दिन असम्भव भएका कारण होम आइसोलेसन बाध्यता भएको उनको सुझाव छ । आइसोलेसनमा बस्दा ज्ञानवद्र्धक कुरा सिक्ने, नकारात्मक समाचार नसुन्ने, गीत–सङ्गीत सुन्ने, पुस्तक पढ्नेजस्ता कार्य गर्नुपर्ने जानकारी डा पुनले दिएको खवर गोरखापत्र दैनिकमा छापिएको छ ।
कोरोना भाइरसले फोक्सो र श्वासप्रश्वासको पथलाई सबैभन्दा धेरै नोक्सानी पु¥याउँछ । “दिनमा चार÷पाँच पटक पल्स लेभल जाँच गर्नुपर्छ,” डा पुन थप्छन्, “अक्सिजनको मात्रा ९२ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा चिकित्सकसँग परामर्श वा तत्काल अस्पताल जानुपर्छ । ”
