महामारीबीच नारायणगढ–बुटवल सडकखण्ड विस्तारले गति लिँदै

काठमाडौँ । विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्रकारका कानुनी अड्चनको निराकरणसँगै राजमार्गको सो खण्डको विस्तार कार्यले गति लिएको हो ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य अगाडि बढाउन अब कुनै पनि कानुनी वा व्यावहारिक बाधा अड्चन नरहेको जानकारी दिए । उनले अवरोध हटिसकेकाले विस्तार कार्यले गति लिई काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति सात प्रतिशत छ ।

सरकारले पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने काम यसै खण्डबाट सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते राजमार्गको सो खण्डको विस्तार कार्यको शिलान्यास गरेका थिए ।

आयोजनाका अनुसार अहिलेसम्म रुख कटानको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रमा शतप्रतिशत रुख कटान सम्पन्न भइसकेको छ भने वन क्षेत्रमा १० प्रतिशत कटानको काम बाँकी छ । विस्तारका क्रममा झन्डै ११ हजार रुख काटिनेछ । यस क्षेत्रमा छवटा वन क्षेत्र छन् ।

कोरोना महामारीबीच स्वास्थ्य मापदण्ड अपनाएर अहिले विस्तार कार्यमा दैनिक एक हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको प्रमुख दिष्टीको भनाइ छ । गैँडाकोट–दाउन्ने सडकखण्ड तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा कल्भर्ट निर्माणको काम सम्पन्न भएको जानकारी उनले दिनुभयो ।
प्रमुख दिष्टीका अनुसार अहिलेसम्म २२ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी गैँडाकोट क्षेत्रका पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरी १२ वटा ठूला पुल निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।

निर्माणाधीन पुलहरूको ‘पाइलिङ’को काम सम्पन्न भई जग (फाउन्डेसन)को काम भइसकेको जानकारी उनले दिए । राजमार्ग विस्तारका क्रममा कुल १२ वटा ठूला पुल र २२ वटा साना पुल निर्माण गर्नुपर्ने देखिएको छ ।

त्यसैगरी अहिले सञ्चालनमा रहेको सडकको दायाँबायाँ माटो ‘फिलिङ’ र ‘कटिङ’को काम भइरहेको छ । गैँडाकोटदेखि चोरमारासम्म माटो भर्ने काम सम्पन्न भइसकेको जानकारी उनले दिए । यो क्षेत्रमा रुख कटानको काम सम्पन्न भइकेको छ ।

करिब १७ अर्ब रुपियाँ लागत

आयोजनाका अनुसार कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँको लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । एसियाली विकास बैङ्क ९एडीबी०को ऋण सहयोगमा विस्तार कार्य भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानी छ ।
एडीबीले १।५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । आयोजनाका अनुसार गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ छ ।

४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । दुइटै प्याकेज निर्माणको जिम्मा चिनियाँ कम्पनीले नै पाएको छ । राजमार्गको यस खण्डको विस्तार सम्पन्नपछि नारायणगढ र बुटबलबीचको दूरी बढीमा दुई घण्टाको हुने सडक विभागको दाबी छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले यो राजमार्ग शिलान्यास गरेका थिए । शिलान्यासको झण्डै छ दशकपछि यो राजमार्गको विस्तार सुरु भएको समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *