लुम्बिनी प्रदेशमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीयः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार साँझ विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेशमा भएको घटना संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको कडा निन्दा र भत्सर्ना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन । नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको ब्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ ।’

उनले संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *