कांग्रेस नेता शिवबहादुर खड्काको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवबहादुर खड्काको आइतबार निधन भएको छ । घरको बाथरुममा लडेर घाइते भएका खड्काको भक्तपुरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन् । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उनी लामो समय सक्रिय थिए । २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भई ५ वर्ष काम गरेका थिए । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट खड्कालाई संविधानसभाको सदस्य पनि बनाइएको थियो ।

पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्का रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर पार्टीको संगठन गरेका थिए । खड्काको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारजनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *