रूसले बनाएको ‘स्पुतनिक भी’ भ्याक्सिनको डेढ लाख डोज शनिबार भारतको हैदरावाद आइपुगेको छ । भारतमा यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोप प्रयोगमा थियो ।
मे १ देखि भारतमा १८ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ । कैयौं राज्यहरूमा खोपको अभाव भइरहेका बेला रूसी भ्याक्सिनलाई पनि प्रयोगमा ल्याउन थालिएको हो ।
गत महिना आपतकालीन प्रयोग अनुमति पाएको रूसी भ्याक्सिन सर्वसाधारणलाई लगाउनुअघि नियामक निकायले केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले केही दिनमा खोप प्रयोगमा आउने बताइएको छ ।
भारतमा रूसी खोपको मार्केटिङ डाक्टर रेड्डीज ल्याबोरेटोरिजले गर्नेछ । दुई डोज लगाउनु पर्ने रूसी भ्याक्सिनको प्रभावकारिता ९१.६ प्रतिशत रहेको बताइन्छ ।
अहिले आएको भ्याक्सिन पाइलट प्रोजेक्टको रूपमा लगाइने र केही सातामै थप भ्याक्सिन आउने डाक्टर रेड्डीजले जनाएको छ । भारत पछिल्लो समय कोरोनाभाइरसको हटस्पट बनेको छ । शनिबारमात्रै भारतमा ३ लाख ९२ हजार मानिस संक्रमित भएका छन् भने झन्डै ३ हजार ७ सयले ज्यान गुमाएका छन् ।