श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवर्द्धन गरिरहेको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै भनेका छन्, “औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ । यसरी हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ ।”

सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरेको उनले बताउनुभएका छन् । श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको पनि उनले स्पष्ट पारेका छन् ।

एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको बताउँदै उनले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताए । स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै प्रधानमन्त्रीले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्दै मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्याइने बताएका छन् । यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने छ । प्रतिघण्टा पारिश्रमिक ६९ रुपियाँबाट ७७ रुपियाँ हुनेछ ।

‘‘सामाजिक सुरक्षा र औपचारिक तथा अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूलाई क्रमशः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने छ,’’ उनले सन्देशमा भनेका छन्, “यसको सुरुवात यसै आर्थिक वर्षबाट लागू हुने गरी दैनिक ज्यालादारी र करार सेवामा कार्यरत सरकारी सेवाका कामदारर कर्मचारीहरूबाट गरिने छ ।” उनले तत्काल विवरण प्राप्त नौ हजार ८४० सङ्घीय कार्यालयमा कार्यरत कर्मचारीबाट यसको सुरुवात गरिने बताएका छन् ।

कोरोनाविरुद्धको खोप सबैलाई छिट्टै सम्पूर्ण नेपालीलाई छिट्टै खोप उपलब्ध गराउनेमा उनले प्रतिबद्धता व्यक्त गरेका छन् । सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गर्नेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको उल्लेख गर्दै उनले हालसम्ममा पहिलो डोज खोप लगाउनेको सङ्ख्या १९ लाख नाघिसकेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले मानिसका लागि जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले महामारीबाट आम नेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको स्पष्ट गरेका छन् । उनले अहिले सरकार महामारी नियन्त्रण, उपचार र रोकथामसँगै गर्नुपर्ने अवस्थामा रहेको बताएका छन् ।

पीसीआर परीक्षण प्रयोगशाला ८७ वटा पुगेको तथा अस्पताल र स्वास्थ्य चौकीको सङ्ख्या आठ हजार ९८२ रहेको उल्लेख गर्नुहुँदै उनले महामारीपछि शय्यामा ३८।४ प्रतिशत थप गरिएको उल्लेख गरेका छन् । यस वर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास गरिएको र अर्को वर्ष थप २०४ स्थानीय स्तरका अस्पताल निर्माण सुरु गरिने उनको सन्देशमा उल्लेख छ ।

आगामी दुई वर्षभित्र सम्पन्न हुने स्थानीय स्तरका यी अस्पतालमा थप आठ हजार शय्या थप हुने सन्देशमा उल्लेख छ । यसैगरी आईसीयू शय्या चार सय थपिएको, भेन्टिलेटरसहितको शय्या तीन सय र उच्च निर्भरताका लागि दुई हजार शय्या थपिएको छ ।

कोभिड–१९ को महामारीको सामना गर्ने क्रमसँगै केन्द्रमा तीन सय शय्या र सबै प्रदेशमा ५० बेडका सङ्क्रामक रोग अस्पताल निर्माण गर्न प्रक्रिया प्रारम्भ गरिएको पनि उनले सन्देशमा जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *