काठमाडौं । लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन र शिलान्यास कार्यक्रममा लिप्त हुँदा कोरोना कहर बढेको आरोप लगाएका छन् ।
बुधबार ट्वीट गर्दै संग्रौलाले महामारीको सङ्केत बुझेर पर्याप्त आइसीयु, भेन्टिलेटर, अक्सिजन र दक्ष स्वास्थ्यकर्मीको प्रवन्ध मलाउनुपर्ने बेलामा ओलीतन्त्र शिलान्यास,उद्घाटन र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘महामारीको सङ्केत बुझेर पर्याप्त आइसीयु,भेन्टिलेटर,अक्सिजन र दक्ष स्वास्थ्यकर्मीको प्रवन्ध मलाउनुपर्ने बेलामा ओलीतन्त्र शिलान्यास,उद्घाटन र भ्रष्टाचारमा लिप्त रह्यो । जब सङ्कट आयो, लम्पट सरकारका बुद्धिमा एकमात्र जुक्ति निषेधाज्ञा फुर्यो । कोरोनातुल्य ओलीगार्कीले बिताउने भो !’

प्रधानमन्त्री केपी शर्मा ओली सयौं मानिसको भीड जम्मा गरेर विभिन्न कार्यक्रम गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले गतसाता सयौं मानिसको भिड जम्मा गरेर धरहरा उद्घाटन गरेका थिए भने रामसीताको मूर्ति चितवन पठाउँदा पनि सयौं मानिसको भिड जम्मा गरेका थिए ।
भारतमा कोरोनाका कारण स्थिति भयावह भएपछि मात्रै सरकारले स्वास्थ्य मापदण्डका विषयमा कुरा उठायो भने अहिले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पनि कुसी जोगाउने खेलको रणनीति हुनसक्ने भन्दै माओवादी केन्द्रले त्यसको खबरदारी गरेको छ ।
