काठमाडौँमा झन ठूलो भिड

काठमाडौँ । सरकारले निषेधाज्ञा लागू गर्ने घोषणा गरेपछि काठमाडौँबाट घर बाहिरिनेको संख्या अत्यधिक बढेको छ । बिहीबारबाट निषेधाज्ञा लागू गर्ने घोषणा भएसँगै यात्रुबाहक सवारीसाधनमा सिट संख्याभन्दा बढी यात्रु घर फर्किरहेका छन् ।

निषेधाज्ञापछि उद्योग–व्यवसाय बन्द हुने, रोजगारी गुम्ने र जीवन जटिल हुने डरले ठूलो संख्यामा मजदुरहरू गाउँ फर्किएका छन् । गत वर्ष पनि लकडाउनअघि गाडी र पछि पैदल गरी १२ लाख यात्रु जिल्ला फर्किएका थिए । यसपालि पनि पछिल्लो दुई दिनमा मात्रै ७७ हजार यात्रु घर फर्किएका छन् । फर्कनेमा मजदुरमात्र होइन, उच्च शिक्षा पढ्न काठमाडौं आएकाहरू पनि छन् ।

काठमाडौंको गोंगबु बसपार्क, कलंकी र जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अधिक भिड देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । नाकाहरूमा ट्राफिक प्रहरीले सवारी जाँच बढाएको छ । सिट क्षमताभन्दा धेरै यात्रु राख्ने, मास्क नलगाउनेलाई कारबाही भइरहेको ट्राफिक प्रहरीको भनाइ छ । तर, गाडी अभावमा यात्रुहरू कोचाकोच गरेर फर्किएका छन् ।

सामान्यतया औसतमा दैनिक काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारीसाधनको संख्या ७–७ हजारको हाराहारीमा हुन्छ । त्यस्तै, दैनिक औसतमा ४० हजार मानिस आउने र त्यति नै संख्या बाहिरिने गरेका छन् । तर, सोमबार बिहान ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म २४ घन्टामा ५० हजारभन्दा धेरै मानिस बाहिरिएका छन् । भित्रिने नियमित संख्यामा भने परिवर्तन आएको छैन । त्यसैगरी, मंगलबार बिहानदेखि साँझसम्म १२ घन्टामा २७ हजार ७८० यात्रु फर्किएको छ र २४ घन्टामा यो संख्या ६० हजार यात्रु बाहिरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका भनाइ छ । ‘लामो दूरीका सवारीसाधन रातमा धेरै चल्ने भएकाले बुधबार बिहानसम्ममा बाहिरिनेको संख्या निकै बढ्ने अनुमान छ,’ महाशाखाका प्रहरी हवल्दार नवराज अधिकारी भने ।

घर फर्किने मात्र होइन रोजगारी खोज्दै विदेश जानेको संख्या घटेको छैन । हरेक दिन चार सय नेपाली अहिले पनि खाडी र मलेसिया जान्छन् । पिसिआर गराउन मंगलबार स्टार हस्पिटलमा ठूलो भिड देखिएको छ । संक्रमितको संख्या बढेसँगै चिनियाँ खोप लगाउन मंगलबार काठमाडौँमा १९ अस्पतालहरुमा स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै भिड बढेको समाचार र फोटो आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *