अमेरिकाले ६ करोड डोज खोप अरू देशलाई बाँड्ने

अमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ । ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्नेछ ।

विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन । अमेरिकाले खोप थुपारेको आलोचनाका माझ सो निर्णय भएको छ । जबकी राष्ट्रपति बाइडनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित् नभएको बताएका थिए ।

छिमेकी क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशहरूले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन् । गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए ।

ती दुवै देशले आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् । एफडिएले अनुमति नदिएपनि अमेरिकामा उक्त खोपको स्टक रहेको छ । सोमवार ह्वाइट हाउसले आगामी साताहरूमा एफडिएले सो खोपलाई अनुमति दिनासाथ करिब १ करोड मात्रा उसले बाँड्न सक्ने बताएको छ । साथै थप ५ करोड मात्राको खोप उत्पादनका विभिन्न चरणमा रहेको बताइएको छ ।

प्रेस सम्मेलनमा बोल्दै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र निकासी गरिने बताइन् ।

यसबीच अमेरिकाले भारतीय खोप निर्माताहरूलाई तत्काल कच्चा पदार्थ उपलब्ध गराउने निर्णय पनि गरेको छ । सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन कुराकानीमा राष्ट्रपति बाइडनले थप आपत्कालीन सहयोगको वाचा गरेको ह्वाइट हाउसले बताएको छ। त्यस्तो सहयोगमा अक्सिजनसम्बन्धी आपूर्ति, खोप सामग्री तथा औषधि रहेका छन् ।

हाल बाइडन प्रशासनसँग प्रशस्त खोप स्टक रहेको छ र अब ऊ ती खोपमध्ये केही अन्य देशलाई बाँड्दैछ । करिब ६ करोड मात्राको आस्ट्राजेनेका खोपको निर्यातसम्बन्धी अमेरिकी निर्णय त्यतिखेर आएको छ जतिखेर उसका छिमेकीहरू क्यानडा र मेक्सिको सङ्घर्षरत छन् भने भारत गम्भीर कोभिड सङ्कटमा परेको छ ।

कम्तीमा यसो गर्दा बाइडन प्रशासनमाथि लाग्दै आएको खोप थुपारेको आलोचना मत्थर हुने उनले बताए । हाल उक्त निर्णय कार्यान्वयनमा बाइडनका सामु खासै घरेलु चुनौती नभएको पनि उनले बताए । बाइडन प्रशासनले जुलाईसम्म सबै अमेरिकीलाई खोप दिलाउने योजनाअनुसार काम भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *