आईपिएलमा कलकताको दोस्रो जित

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) मा कलकता नाइट राइडर्सले दोस्रो जित हात पारेको छ । सोमबार बेलुकी भएको खेलमा कलकताले पन्जाब किङ्सलाई ५ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय २४ रनको झिनो लक्ष्य पछ्याएको कलकताले १६.४ ओभरमा १ सय २६ रन बनाउदै लक्ष्य भेट्टायो । कलकताको लागि कप्तान इयोन मोर्गानले ४७ रन जोड्दै टोलीलाई जितको बाटोमा डोर्याए । उनले ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

राहुल त्रिपाठीले ३२ बलमा ७ चौकाको मद्दतमा ४१ रन जोडे । यस्तै दिनेश कार्तिकले १२, आन्द्रे रसेलले १० र शुभ्मन गिलले ९ रनको योगदान गरे । पन्जाबको लागि मोहमद शामी, मोइसेस हेन्रिक्वेस, अर्शदिप सिंह र दिपक होण्डाले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन जोडेको थियो । पन्जाबको लागि क्रिस जोर्डान र मयङ्क अग्रवाल बाहेक अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् ।

मयङ्कले ३१ र जोर्डानले ३० रन जोडे । यस्तै कप्तान केएल राहुल र निकलोस पोरानले समान १९/१९ रन जोड्दा शाहरुख खानले १३ रनको योगदान गरे ।

पन्जाबलाई सामान्य स्कोरमा रोक्न प्रसिद्व क्रिष्णले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । यस्तै सुनिल नरायण र प्याट कमिङ्सले २/२ विकेट लिँदा शिभम माभी र वरुन चक्रवतीको नाममा १/१ विकेट रह्यो ।

जितसँगै कलकता ६ खेलबाट ४ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित पन्जाब समान अङ्कको साथ छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *