काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको चेन ब्रेक गर्न एक डेढ हप्ता काठमाडौंमा निषेधाज्ञा जारी गर्न प्रस्ताव गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक डेढ साता निषेधाज्ञा गर्ने प्रस्ताव गरेको जानकारी दिएका हुन् ।
उनले त्यसअघि नागरिकलाई घर फर्किन एक दुई दिनको समय दिने बताए । कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दापनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन प्रस्ताव गरिएको बताए ।
पराजुलीले सर्वसाधारणलाई विगत जस्तै पैदलै घर जान नपरोस् भनेर विभिन्न उपायकाबारेमा छलफल भइरहेको बताए । निषेधाज्ञाको निर्णय प्रमुख जिल्ला अधिकारीलाई भए पनि के–के आदेश जारी गर्ने ती विषयमा सबै सम्बन्धित निकायसँग छलफल गरेर निर्णय गर्दा कार्यान्वयन गर्न सहज हुने उनले बताए ।