सुर्खेत । सुर्खेतमा कोरोना संक्रमण बढेपछि मंगलबारदेखि निषेधाज्ञा गरिने भएको छ । मंगलबार मध्यरातदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यरातदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिए । सुर्खेतमा मात्रै ३०० भन्दाबढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।
भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । जसका कारण संक्रमितको संख्या बढ्दै गएको छ ।
बर्दियामा निषेधाज्ञा
छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।