बैतडी । बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुलाहा-दुलही घाईते भएका छन् । दुलही लिएर महेन्द्रनगरबाट बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने दुलाहाका काका दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् । दुलाहा-दुलही अवस्था सामान्य रहेको बताइएकोे छ ।
दुलाहा लिएर आइतबार उक्त जिप बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो । विवाह सकेर आईतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो ।