USAID

भारतमा प्रवासी नेपालीः घरै बसे बाँचिएला, अस्पताल गए फर्केर आइँदैन


काठमाडौँ । भारतमा कोरोना संक्रमण दिनहुँ उकालो लागिरहेको छ । हरेक दिन दुई हजार पाँच सयको आसपासमा मृत्यु रेकर्ड भएका छन् । खासगरी दिल्ली, महाराष्ट्र, गुजरातसहित भारतभरि कोभिड संक्रमण आक्रामक छ, यिनै क्षेत्रमा नेपालीको घनत्व धेरै छ । त्यसैले आमभारतीयजस्तै विभिन्न पेसा, व्यवसाय र मजदुरी गर्ने नेपालीमा पनि कोभिडको संक्रमण तीव्र भएको छ । तर, मूल निवासीले नै अस्पतालमा बेड र अक्सिजन नपाएकाले नेपालीको पीडा हिसाबमै आएको छैन ।

अस्पतालमा पहुँच नभएको भन्दै नेपालीले प्रवासी नेपालीसम्बन्धी विभिन्न संगठनसँग हारगुहार गर्न थालेका छन् । दिल्लीस्थित अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाका अनुसार दिल्लीमा यही साता ३५ वर्षभन्दा मुनिका तीन नेपालीको ज्यान गएको छ । त्यस्तै, मुम्बईमा उपचार नपाएर एकजनाको मृत्यु भएको छ ।

‘नेपाली भएकै कारण भारतमा उपचार नभएको होइन, यहाँको स्वास्थ्य प्रणालीले नै थेग्न नसकेको असर नेपालीमा पनि परेको छ,’ रानाले दिल्लीबाट भने, ‘मैले बुझेसम्म नेपालीलाई उपचारमा भेदभाव भएको छैन । तर, भारतमा कोभिडका बिरामीको बढ्दो चापका कारण नेपाली मात्र होइन, सबै मर्कामा छन् ।’ त्यस्तै देहरादुनमा एकजना मृत्यु भएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार भारतमा कति नेपाली संक्रमित छन् भन्ने तथ्यांक संकलन हुन सकेको छैन । ‘भारतमा महामारी भयावह भएकाले कहाँ कति नेपाली प्रभावित छन् भन्ने वैज्ञानिक तथ्य संकलन हुन सकेको छैन,’ उनले भने ।

अखिल भारत नेपाली एकता समाजका महासचिव आरबी खड्काका अनुसार भारतभरि नेपाली विद्यार्थी र कामदार निकै ठूलो संख्यामा संक्रमित भएका छन् । ‘जस्तो कि दिल्लीको लक्ष्मीनगरमा विद्यार्थीलाई कोरोना भेटिएको छ, अस्पतालमा उपचार नहुने भएपछि केही औषधि खाएर उनीहरू डेरामै बसेका छन्, कतिपय गम्भीर बिरामी पनि कोठामै बसेका छन्,’ खड्काले टेलिफोनमा भने, ‘दुई साताभन्दा बढी समयदेखि निरन्तर ज्वरो आएका पनि अस्पताल जाने अवस्था नभएर डेरामै छन् । नेपालीमा त अहिले घरै बसे बाँचिएला, अस्पताल गइयो भने फर्केर आइँदैन भन्ने मनोविज्ञान देखिन्छ ।’

निजी अस्पतालको लुट

गम्भीर बिरामीलाई दिइने अक्सिजन तथा रेमिडिसिभिर र अक्टोमिरा औषधिको चरम अभाव छ । औषधि मात्र होइन, अक्सिजन पनि खोसाखोस र कालोबजारी भएको भन्दै राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप भइरहेको छ । यो अभावको मारमा भारतीयसँगै नेपाली बिरामी पनि स्वतः परेका छन् ।

सरकारी अस्पतालमा नयाँ बिरामीका लागि उपचार गर्ने ठाउँ नभएका वेला निजी अस्पतालले लुट मच्चाएका छन् । तर, ती रिपोर्ट भारतीय मिडियामा निकै कम मात्र आएका छन् । दिल्लीको महाराजा सुरज अस्पतालमा उपचाररत राजु परियार अहिले कोभिडसँग संघर्षरत छन् । उनको उपचार सकिएको छैन, तर अस्पतालले अहिलेसम्मको उपचारका लागि लागेको भन्दै करिब पाँच लाखको बिल थमाइसकेको छ ।

उनले टेलिफोनमा संक्षिप्त प्रतिक्रिया दिए, ‘पैसाको के कुरा गर्नु, भनिसाध्यै छैन । म अलिक गम्भीर बिरामी भएकाले अक्सिजन लगाएर अस्पतालमा बसेको छु । अहिले धेरै बोल्न सक्दिनँ । ज्यान बच्यो भने पैसा तिरौँला । अहिले जीवनका लागि संघर्ष गर्दै छु सर ।’

पश्चिम नेपालका धेरै मजदुर भएको मुम्बई सहरमा पनि कति नेपाली संक्रमित छन् भन्ने यकिन तथ्यांक छैन । ‘नेपाली कामदार सेना’का अध्यक्ष मास्टर थापाका अनुसार केही दिनअघि उपचारका लागि अस्पतालको बेड नपाएर गुल्मीका एकजना पुरुषको मृत्यु भएको छ । ‘बेडको आशामा एउटाबाट अर्को अस्पताल दौडाउने क्रममा बिचराको मृत्यु भयो,’ थापाले टेलिफोनमा भने, ‘रोजगारी गुमाएका नेपाली महामारीबाट बच्न स्वदेश फर्किएका छन्, फर्किन नसकेकाहरू कोभिडको चपेटामा छन् ।’

तर, ज्यान बचाएर देश हिँडेका नेपालीको यात्रा पनि सहज छैन । ‘मुम्बईबाट नेपाली सीमावर्ती गौरीफन्टा नाकासम्म ल्याइदिने भनेर महँगो टिकट बेच्ने र बीचबाटैमा नेपालीलाई अलपत्र पार्ने गरिएको गुनासो छ, यस्तो थाहा पाएपछि हामीले महाराष्ट्र सरकारका मन्त्रीलाई नै जानकारी दिएका छौँ,’ थापाले भने ।

के गर्दै छ नेपाली दूतावास ?

नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार संक्रमित नेपालीलाई सहयोग गर्न दुईजना कूटनीतिक र दुईजना स्थानीय कर्मचारी परिचालन गरिएको छ । ‘संक्रमित नेपालीको अवस्था बुझ्ने, अस्पताल भर्नामा समन्वय गर्ने तथा लकडाउनको अवस्थामा नेपालीलाई स्वदेश फिर्ताका लागि कागजपत्रसहित सहजीकरण गर्ने काम भइरहेका छन्,’ सुवेदीले भने ।

भारत सरकारका विभिन्न निकायसँग समन्वयमा रहेर दूतावासले काम गरिरहेको सुवेदीले बताए । ‘विभिन्न राज्य सरकारले प्रवासी कामदार एवं मजदुरलाई नडराउन र आत्तिएर नहिँड्न आग्रह गरिरहेका छन्,’ उनले भने । शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रवासी कामदारलाई नआत्तिन भनेका छन् भने उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि धैर्य गर्न र त्यहीँ बस्न आग्रह गरेका छन् । सुवेदीका अनुसार सीमा जोडिएका राज्यहरू बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, पश्चिम बंगालमा रहेका र तत्काल रोजगारी बन्द भएका मजदुर स्वदेश फर्किएका छन् । अघिल्लोपटक भारतबाट आउनेलाई सिमानामा रोक्ने, क्वारेन्टिनमा राख्ने र पिसिआर परीक्षण गर्नेसम्मका काम भएका थिए । तर, यसपालि भने आवागमन निर्वाध छ ।

प्रवासी नेपालीसम्बद्ध संगठनका पदाधिकारीले पनि नेपाल–भारत सीमा बन्द गर्न नहुने माग राखेका छन् । बरु नेपालमा सरकारले कडा चेकजाँच र क्वारेन्टिनको व्यवस्था गरोस् भन्ने उनीहरूको सुझाब छ । अखिल भारत नेपाली एकता समाजका महासचिव आरबी खड्का यसअघि नेपालीलाई सिमानामा रोकेर अन्याय भएकाले यसपालि नदोहो¥याउन आग्रह गर्छन् ।

‘सीमा बन्द भयो भने पनि भारतीय प्रहरीलाई दुई–चार सय रुपैयाँ खुवाएर नेपाली अवैध रूपमा जान्छन्, त्यो अवस्थामा महामारी झन् भयानक र बेहाल हुन्छ । बरु, अहिले सीमानाकामा परीक्षण गराएर, क्वारेन्टिनमा राखेर व्यवस्थित रूपमा उनीहरूलाई घर फर्काउनुपर्छ । सीमा बन्द कुनै पनि हालतमा समाधान होइन,’ उनी भन्छन् ।

दिल्लीस्थित नेपाली दूतावासले पनि सरकारलाई यही सुझाब दिएको परराष्ट्र स्रोतले बतायो । यद्यपि नेपालमा भने सीमानाका बन्द गर्न सरकारमाथि चौतर्फी दबाब छ । ‘सरकारले सीमानाकाबाट एक किलोमिटरभित्रको दूरीमा एक हजारजना अट्ने होल्डिङ सेन्टर बनाउने गरी काम अघि बढाएको छ,’ एकजना उच्च सुरक्षा अधिकारीले भने, ‘त्यहीअनुसार नागरिकको व्यवस्थापन गर्ने भन्ने छ ।’ तर, महामारी भयावह भइसकेको छ, होल्डिङ सेन्टर कहिले बनाउने ? कोभिड परीक्षण गरेर मात्र घर पठाउने क्रम कहिले सुरु हुने भन्ने ठेगान छैन । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *