जेडेजाको उत्कृष्ट प्रदर्शनमा चेन्नई विजयी

प्रज्जवल थापा । अलराउण्डर रविन्द्र जडेजा ब्याटिङ र बलिङ दुवैमा चम्किदा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग(आईपिएल) मा जित हात पारेको छ । आइतबार दिउँसो भएको खेलमा चेन्नईले लिग लिडर रोयल च्यालेन्जर्स बैंगलोरलाई ६९ रनले पराजित गरेको हो । जितको लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका देवदत्त पडिक्कल बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । ओपनर पडिक्कलले १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३४ रन जोडे । यस्तै म्याक्सवेलले २२, जेमिसनले १६ र मोहम्मद सिराजले १२ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

बैंगलोरको लागि घातक सवित भएका रविन्द्र जडेजाले ४ ओभरमा १ मेडन राख्दै १३ रन दिएर ३ विकेट लिए । यस्तै इमरान ताहिरले ४ ओभरमा १६ रन दिएर २ विकेट लिँदा साम कुरान र सार्धुल ठाकुरले १/१ विकेट लिए ।

यसअघि वानखेडे स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको चेन्नईले रविन्द्र जडेजाको बिष्पोटक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९१ रन जोडेको थियो । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका जडेजाले शानदार ब्याटिङ गर्दै ६२ रन जोडे ।

उनले २८ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । जडेजाले इनिङ्सको अन्तिम ओभरमा हर्सल पटेललाई कीर्तिमानि ३७ रन प्रहार गरेका थिए । यस्तै ओपनर फाफ डु प्लेसीले ४१ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५० रन जोडे ।

अर्का ओपनर रुतराज गैकवाडले २५ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३३ रन जोड्दा सुरेश रैनाले २४, अम्बती रायडुले १४ र कप्तान महेन्द्र सिंह धोनीले २ रनको योगदान गरे ।

बैंगलोरको लागि महंगो साबित भएका हर्सल पटेलले ४ ओभरमा ५१ रन दिएर ३ विकेट लिए । यस्तै युजवेन्द्र चहालले ३ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । जितसँगै चेन्नई ५ खेलबाट ८ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान अङ्क जोडेको बैंगलोर नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *