नेपाललाई त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधि

प्रज्जवल थापा । नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्समाथि १ सय ४२ रनको जित निकाल्दै घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि उचालेको हो ।

जितको लागि २ सय २९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सको लागि सेबास्टिन ब्राटले सार्वधिक २६ रन जोडे । उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै म्याक्स वुडले १९ बलमा २ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दा पिटेर सेलारले १३ रन जोडे । नेदरल्याण्ड्सका अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालको लागि करण केसीले ३ ओभर बलिङ गर्दै ११ रन दिएर ३ विकेट लिए । यस्तै कमल सिंह एरीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिदा सन्दिप लामिछानेलेपनि ४ ओभरमा २६ रन दिएर २ विकेट लिए । अबिनाश बोहोराले ३.२ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो । टि-२० आईमा नेपालले बनाएको यो सार्वधिक योगफल हो । नेपालको लागि ओपनर तथा युवा ब्याट्सम्यान कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक पुरा गरे । भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्काको मद्दतमा सार्वधिक ७७ रन जोडे । यससँगै कुशलले सिरिजको पाचौं खेलमा चौथो अर्धशतक पुरा गरेका हुन् ।

कुशल मल्लले बिष्पोटक ब्याटिङ गर्दै २४ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ५० रन जोडे । यस्तै दुई रनले अर्धशतक बनाउन चुकेका दीपेन्द्र सिंह एरीले २८ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४८ रन जोड्दै नटआउट रहे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३३ रन जोड्दा असिफ शेखले ८ बलमा २ छक्का र १ चौकासहित १६ रन जोडे ।

नेदरल्याण्ड्सको लागि फिलिपे बोइसेभानले ४ ओभरमा ४३ रन दिदै २ विकेट लिए । यस्तै सेबास्टिएन ब्राटले २ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । नेपालको टि-२० आईमा रनको हिसाबमा यो सबैभन्दा ठुलो जित हो । वैशाख ४ गतेदेखि भएको प्रतियोगितामा नेपालसहित नेदरल्याण्ड्स र मलेसियाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *