‘राजाको चौतारा’ शान्ति र सहअस्तित्वको प्रतिकः प्रधानसेनापति थापा

गण्डकी । पोखरा महानगरपालिका–३२ राजाको चौतारामा रहेको मेल–मिलाप र सह–अस्तित्वको ऐतिहासिकस्थल ‘राजाको चौतारा’ पुनःनिर्माण गरिने भएको छ । चौताराको एक कार्यक्रमबीच शुक्रबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले शिलान्यास गरे ।

विगतमा यसै ठाउँमा एउटा ठूलो समीको रुख रहेको र त्यस रुखमुनी, खरको सानो झुपडीमा माटोको पानीको घडा रहेको, नेपाल देश (काठमाडौँ)बाट पोखरा आउने जाने बटुवा यही बाटो हुँदै थकाई मेट्न यसै चौतारोमा आएर बस्ने किंवदन्ती समेतका आधारमा यहाँको गरिमा र महत्व रहँदै आएको छ ।

वर्तमान अवस्थामा समीको रुख पनि नहुनु, चौतारो साँघुुरिदै जानु र यसको नाम पनि फेरिँदै जानु र यसको महत्व घट्दै जानुलगायत विविध कारणले यसको गरिमा र महत्व हराउँदै गएको वास्तविकतामा यसको पुनःनिर्माण गर्न लागिएको हो ।

इतिहासअनुसार नेपालको पूर्वपश्चिम मूल बाटोमा पर्ने यही राजाको चौतारा भएर काठमाडौंबाट पश्चिमतिर जुम्ला र किल्ला काँगडासम्मको लस्कर चल्थ्यो । यसैगरी, पूर्वपश्चिमबाट दक्षिण हालको तनहुँ भीमादतिर जाने हुलाकको बाटो पनि यहीँबाट छुट्टिन्थ्यो । अतः हुलाकका जाँचकीले यही चौतारामा बसेर हुलाक जाँच्ने र हुलाकीले हुलाक साट्ने गर्दथे । तत्कालिन कास्कीका राजा शिव शाहको पालामा कास्कीको मालमूलमा शान्ति सम्झौताको लागि बाह्र राजाको भेट हुँदा त्यसको स्मारक स्वरूप चिनेको चौतारा भएकाले यस चौताराको राजाको चौतारा नाम रहेको उल्लेख छ ।

शिलान्यास कार्यक्रममा प्रधान सेनापति थापाले शान्तिपूर्ण सम्झौताको ऐतिहासिक स्थलका रूपमा रहेको यस चौतारोलाई जोगाउनु नै राष्ट्र भक्तिको भावना रहेको उल्लेख गरे । पुर्खाले गरेको राष्ट्र भक्तिका साथै हाम्रो संस्कृति र परम्परा जोगाउनुपर्नेमा जोड दिँदै उनले चौतारोको संरक्षणले पर्यटन प्रवर्द्धनका साथै यो शान्ति र सहअस्तित्वको प्रतिकका रूपमा स्थापित हुनेमा जोड दिए ।

संस्कृतिविद् एवम् राष्ट्रिय प्रज्ञा पतिष्ठानका उपकुलपति जगमान गुरुङले वर्तमान नेपालको शान्ति र सह अस्तित्वको शुरुआत यसै राजाको चौताराबाट शुरु भएको बताउँदै इतिहासको अध्ययन गर्दै त्यसबाट स्वाभिमानको पाठ सिक्नुपर्ने आवश्यकता औँल्याए । राजाको चौतारा शान्ति, सम्झौता र सहअस्तित्वको प्रतिक भएको उल्लेख गर्दै उनले यो कुनै सामन्ती शासकको निशाना नभएको स्पष्ट पारे ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक पृष्ठभूमि बोकेको यस चौतारालाई जोगाउनु र नेपालका परम्परा एवम् ऐतिहासिक स्थलको खोजी गर्नुपर्ने धारणा राखे । कार्यक्रममा पोखरा महानगरपालिका–३२, का वडाध्यक्ष अक्कलबहादुर कार्की, पुनःनिर्माण समितिका सदस्य एवम् वडा सदस्य विष्णु तिवारी, समितिका संयोजक सूर्य पौडेललगायतले यसको महत्वबारे प्रकाश पारे ।

करीब रु ४० लाखको लागतमा पुनःनिर्माण हुने राजाको चौतारा ब्रह्मरुपा माध्यमिक विद्यालयको परिसरभित्र अवस्थित करीब एक रोपनी क्षेत्रमा फैलिएको छ । चौतारालाई पुनःनिमार्णमा ऐतिहासिक राजाको झल्को आउने शालिक, चौतारोको व्यवस्थापन, बटुवा बस्ने टहरो, पानीको घडा, बगैँचासहितको पार्क निर्माणका साथै र शान्तिको प्रतिक झल्कने स्तम्भलाई नेपाली सेनाको भगवती दल गण फुलवारी कास्कीले करीब एक महिनाभित्र काम सम्पन्न गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *