महाराष्ट्रको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन चुहिँदा कम्तीमा २२ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन भण्डारण गरिएको ट्याङ्कीबाट अक्सिजन चुहिएर भएको दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

उक्त अस्पतालमा १५० जना बिरामी भएका र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो । भारतीय समाचारसंस्था एएनआईका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा ट्याङ्करबाट अक्सिजन भर्ने क्रममा उक्त घातक दुर्घटना भएको हो । अक्सिजन चुहिएकाले अस्पतालमा आधा घण्टासम्म अक्सिजनको आपूर्ति अवरुद्ध भएको थियो ।

‘प्रावधिकहरूको सहयोगमा चुहावट बन्द गरिसकिएको छ। तर अस्पतालमा अब २५ प्रतिशत मात्र अक्सिजन बाँकी छ,’ नासिक नगर निगमका आयुक्त कैलाश जाधव भने । उनले घटनाको अनुसन्धान हुने र दोषीलाई कारबाही गरिने बताए ।

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मानिसहरू गम्भीर बिरामी हुन थालेपछि अस्पतालमा चाप बढेको र त्यहाँ अक्सिजनको माग धेरै बढेको बताइन्छ । अस्पतालमा अक्सिजनको अभाव देखिन थालेकाले दिल्ली हाई कोर्टले केन्द्र सरकारलाई अक्सिजनको औद्योगिक प्रयोग गर्न रोक लगाउन निर्देशन दिएको छ ।

भारत सरकारले बुधबार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दुई लाख ९५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस पुष्टि भएको थियो । सो अवधिमा २,०२३ सङ्क्रमितको मृत्यु भएको थियो।

भारतमा पहिलो पटक एकैदिन २ हजार भन्दा बढी सङ्क्रमितको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । कोरोनाभाइरस अनियन्त्रित रूपमा फैलिन थालेपछि भारतमा धेरै राज्यले लकडाउन गर्ने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *