प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) मा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा दिल्लीले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो ।
जितको लागि १३८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउदै १३८ रन बनाएर लक्ष्य भेट्टायो । दिल्लीलाई जित दिलाउन शिखर धवन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । ओपनर धवनले ४२ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४५ रन जोडे । यस्तै स्टिभ स्मिथले २९ बलमा ४ चौका सहित ३३ रन जोड्दा ललित यादवले २२, हेटमायरले १४ रनको योगदान गरे ।
मुम्बईको लागि जयन्त यादव, जप्रित बुम्रा, राहुल चहार र किएरोन पोलार्डले १/१ विकेट लिए ।
यसअघि चेन्नाईमा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । मुम्बईको लागि कप्तान रोहित शर्माले सार्वधिक ४४ रन जोडे । उनले ३० बलमा ३ छक्का र ३ चौका प्रहार गरे । यस्तै इसान किसानले २६, सुर्यकुमार यादवले २४ र जयन्त यादवले २३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।
मुम्बईलाई सस्तैमा समेट्न अमित मिश्राले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । यस्तै आभेश खानले २ ओभरमा १५ रन दिएर २ विकेट लिँदा ललित यादव, मार्कुस स्टोइनिस र कगिसो रबडाले १/१ विकेट लिए । जितसँगै दिल्ली ४ खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई ४ अङ्कको साथ चौथो स्थानमा छ ।