काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ । मंगलबार बसेको नेपाल पक्षीय सांसदहरुको अनौपचारिक बैठकले नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सबै नेताले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निष्कर्ष निकालेको हो ।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेकाले स्पष्टीकरण दिने जानकारी दिइन् । उनले पार्टी विभाजनको पक्षमा पार्टी अध्यक्ष ओली एक वर्षअघिदेखि नै रहेको आरोप लगाइन् ।
गतवर्षको वैशाखमा ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको र त्यसपछि निरन्तर पार्टी विभाजनको पक्षमा रहेको आरोप उनले लगाइन् । आज २७ जनाका लागि सोधिएको स्पष्टीकरण पनि त्यसैको उपज भएको झाँक्रीको भनाइ थियो ।
उनले आफूहरुले दल त्याग नगरेको र नयाँ दल खोल्ने पक्षमा नरहेको पनि बताइन् । ओली पक्षले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै केन्द्रका २७ र प्रदेशका पाँच गरी ३२ सांसदलाई मंगलबार स्पष्टीकरण सोधेको छ ।