प्रज्जवल थापा । कीर्तिपुरमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजमा नेदरल्याण्ड्सले शानदार जित निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई ३ विकेटले पराजित गरेको हो । यससँगै नेपालले सिरिजमा पहिलो हार चाखेको छ ।
जितको लागि २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेटको क्षतिमा २०९ रन जोड्दै जित निकाल्यो । करण केसीको बलमा चौका प्रहार गर्दै नेदरल्याण्ड्सलाई जित दिलाएका बास डे लेन्डेले सार्वधिक ८१ रन जोडे । उनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । बेन कप्परले ३५ बलमा १० चौकाको मद्दतमा ५५ रन जोडे । यस्तै कप्तान सेलारले १५ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै आक्रमक ३१ रन जोड्दा टोबिएस भिसेले १५ र म्याक्स ओडाउडले ९ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चिदै ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै करण केसी, अबिनाश बोहोरा र कुशल मल्लले १/१ विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्न उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो । नेपालको लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र उपकप्तान दिपेन्द्र सिंह ऐरिले अर्धशतक पूरा गरे । यसै प्रतियोगितामार्फत नेपाली टोलीको लागि डेब्यु गरेका कुशल विश्व क्रिकेटमा लगातार तेस्रो खेलमा अर्धसतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले ४६ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६२ रन जोडे ।

उपकप्तान दिपेन्द्र सिंह एरिले ३० बलमा ५ छक्का र ३ चौकाको मद्दतमा आक्रमक ६० रन जोडे । यस्तै सोमपाल कामीले २१, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ रनको योगदान गरे । कुशलले ७ बलमा ३ चौका प्रहार गरे ।
नेदरल्याण्ड्सको लागि पिटर सेलारले ४ ओभरमा ३७ रन जोडेर २ विकेट लिए । भिभिन किङ्माले ४ ओभरमा ४४ रन दिएर २ विकेट लिँदा बास डे लेन्डे र आर्यन दत्तले १/१ विकेट लिए । जितसँगै नेदरल्याण्ड्स ३ खेलमा ४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ४ अङ्क जोडेको नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा यथावत छ ।
