सामूहिक लगानीमा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडीमा परिणत

खोटाङ । खोटाङ जिल्लामा सडक विस्तारका लागि २३ वर्षअघि सामूहिक लगानीमा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको छ । छिमेकी जिल्ला उदयपुरको कटारी–घुर्मी हुँदै ओखलढुङ्गाको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माण गर्न खोटाङका तत्कालीन ७६ गाविसको संयुक्त लगानीमा विसं २०५५ मा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको हो ।

खोटाङ जिल्लाको प्रमुख मार्ग दिक्तेल–जयरामघाट सडकखण्ड निर्माण गर्न सामूहिक लगानीमा खरिद गरिएको डोजर हाल खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाट (ओखलढुङ्गातर्फ)मा अलपत्र पारेर छाडिएको छ ।

खोटाङको साझा सम्पत्तिका रूपमा रहेको डोजर हाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने जयरामघाटभन्दा मुनि दूधकोशी किनारमा अलपत्र अवस्थामा छाडिएको हो ।

सडकभन्दा मुनि नदी किनारमा अड्किएर रहेको डोजर खियाले खाइसकेको तथा बालुवा र रोडा ढुङ्गाले पुरिएको अवस्थामा देख्न सकिन्छ ।

दूधकोशीस्थित नदीको पानीको सतहभन्दा केही मिटरमाथि अड्किएको डोजरलाई कुनै दिन ठूलो बाढी आएमा बगाउने अवस्थामा रहेको देखिएको छ । लामो समयसम्म मध्यपहाडी लोकमार्गको कुनामा मिल्काइएको अवस्थामा रहेको डोजर अहिले सडकको डिलमुनि पुर्याइएको अवस्थामा रहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । जिल्ला प्रवेश नै नगरी बाटैमा छाडिएको डोजरको कुनै पनि पार्टपुर्जा काम लाग्ने अवस्थामा छैन ।

कटारीबाट ओखलढुङ्गाको हर्कपुर हुँदै सोलुखुम्बु जोड्ने गरी सडक निर्माण शुरु गरिएपछि खोटाङका तत्कालीन सांसद टङ्क राईले हिलेपानीबाट दिक्तेल जोड्ने गरी हिले–हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सारेपछि डोजर खरिद गरिएको थियो । तत्कालीन सांसद राईको योजना सफल बनाउन तत्कालीन जिल्ला विकास समितिका सभापति पर्शुराम कार्की, हरि रोकालगायतको पहलमा डोजर खरिद गरिएको हो ।

प्रतिगाविस एक लाख रुपैयाँका दरले सङ्कलन गरिएको रकममध्ये ४२ लाखमा डोजर खरिद गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । डोजर खरिद गरेर बचेको रकमबाट एउटा ट्र्याक्टर खरिद गरिए पनि हाल ट्याक्टरको अत्तोपत्तो छैन ।

जिल्लाका कतिपय गाविसले भने डोजर र ट्याक्टर खरिदका लागि तोकेको रकम विनियोजन गर्न अस्वीकार गरेका थिए । तत्कालीन समयमा खोटाङको साझा सम्पत्तिका रूपमा रहेको डोजर प्रयोग गरेर ओखलढुङ्गाको हिलेपानीबाट जयरामघाटसम्म करिब नौ किलोमिटर सडक खनिएको जनाइएको छ ।

सडक खन्दै जयरामघाटसम्म आइपुगेको डोजर नदी नतार्दै कवाडीमा परिणत भएको जनाइएको छ । विसं २०५७ मा अप्पर माथिल्लो सगरमाथा कृषि विकास आयोजना र त्यसपछि ग्रामीण पहुँच कार्यक्रमसँग जयरामघाट (दूधकोशी किनार)बाट हलेसीसम्मको सडक निर्माणमा हेभी मेशिन प्रयोग नगर्ने सम्झौता भएपछि सो डोजर खोटाङ नतारी सडकमै थन्क्याइएको हो ।

सडकमै थन्किएको डोजर कवाडीमा परिणत भए पनि खोटाङको सामूहिक भावना बोकेको तथा साझा सम्पत्तिको प्रतीकका रूपमा रहेकाले संरक्षणको चर्चा हुने गरेको छ । डोजर संरक्षणका लागि जिल्ला समन्वय समितिको विसं २०७६ असार ९ गतेको बैठकले सडकको ढोका खोल्ने लक्ष्यका साथ खरिद गरिएको डोजरलाई संरक्षण गर्न स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *