त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सको पहिलो जित

प्रज्जवल थापा । नेपालमा जारी त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको हो ।

शनिबार भएको उद्घाटन खेलमा नेदरल्याण्डसले नेपालसँग ९ विकेटको हार बेहोरेको थियो । आइतबार दिउँसो भएको खेलमा जितको लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले खेलमा खराब शुरुवातका बाबजुत गतिलो पुनरागमन गरेपनि जित निकाल्न सकेन । मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो । शिर्ष ३ ब्याट्सम्यानलाई सस्तैमा गुमाएको मलेसियाको इनिङ्स भिरनदिप सिंह र शार्भिन मुनिएन्डीले समालेका थिए । २०-३ स्थितिमा रहेको मलेसियाको लागि सिंहले आक्रमक इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । उनले ५३ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ८७ रन जोडे । यस्तै शर्भिनले २८ र अमिनुदिन राम्लेले २६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

नेदरल्याण्ड्सको लागि आर्यन दत्तले २ ओभर बलिङ गर्दै १४ रन खर्चेर २ विकेट लिए । बास डे लेन्डेले २ ओभरमा १५ रन दिएर २ विकेट लिँदा सेबास्टिन ब्राटलेपनि २ विकेट लिए । फिलिपे बोइसेभान र पिटेर सेलारको नाममा १/१ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ गर्न उत्रिएको नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । नेदरल्याण्ड्सको लागि ओपनर म्याक्स ओडाउडले शतक प्रहार गरे । उनले ७३ बलमा १५ चौका र ६ छक्काको मद्दतमा १ सय ३३ रन बनाए । यस्तै स्कोट एडवार्डसले २३ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३१ रन जोडे । बेन कप्पर २० रनमा अवजित रहे ।

मलेसियाको लागि पवनदिप सिंह र अन्वार रहमानले १/१ विकेट लिए । भोलि हुने सिरिजको दोस्रो खेलमा मलेसियाले घरेलु टोली नेपालको सामना गर्नेछ । वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र मलेसियाको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि भिड्नेछन् । सिरिजको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *