त्रिकोणात्मक सिरिज: उद्घाटन खेलमा नेपालको शानदार जित

प्रज्जवल थापा । युवा ओपनरद्वय असिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक पूरा गरेपछि नेपालले त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा शानदार जित निकालेको छ । शनिबार दिउँसो भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको जित हासिल गरेको हो ।

जितको लागि १३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १४.६ ओभरमा १ विकेटको क्षतिमा १४१ रन बनाउदै लक्ष्य भेट्टायो । नेपालको लागि ओपनरद्वय कुशल भुर्तेल र असिफ शेखले अर्धसतक पूरा गरे । दुवैले पहिलो विकेटको लागि १ सय १६ रनको किर्तिमानी शतकिय साझेदारी गरेका थिए । कुशलले ४६ बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ६२ रन जोड्दै जुलियन डेमेको बलमा आउट भए । यस्तै अरसिफले ३८ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रन जोड्दै नटआउट रहे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान ज्ञानेन्द्र मल्लले १४ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । उनले ७ बलमा १३ रन जोडे ।

नेदरल्याण्ड्सको लागि जुलियन डे मेले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए ।

यसअघि किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । नेदरल्याण्ड्सको लागि बास डे लेन्डेले सार्वधिक ४१ रन जोडे । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै स्कोट एडवार्डले ३०, सेलारले २३, टोनी स्टालले २० र म्याक्स ओडोडले १० रनको योगदान गरे ।

नेपालको लागि सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर २ विकेट लिए । यस्तै सोमपाल कामीले ३ ओभरमा १३ रन दिएर १ विकेट लिँदा शहाब अलामले ४ ओभरमा ४५ रन खर्चिदै १ विकेट लिए । भोलि हुने सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियाको सामना गर्नेछ ।

तस्बिर:- हेमन्त शर्मा, क्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *