USAID

आफ्नो कुर्सी बचेमात्र व्यवस्था बच्छ भन्ने सोच त्याग्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह


काठमाडौं । नेपाली कांग्रेसले आफ्नो कुर्सी बचेमात्र व्यवस्था बच्छ भन्ने सोच त्याग्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा कांग्रेस नेताहरुले राजनीतिक गतिरोधको निकासका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकाअनुसार बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिका लागि आग्रह गरेका थिए । प्रधानमन्त्रीले कोभिड नियन्त्रण, रिक्त स्थानमा उपनिर्वाचन तथा एमसीसीकाबारेमा राष्ट्रिय सहमति जुटाउन आफूले सर्वदलीय बैठक आयोजना गरेको बताएका थिए ।

आफूहरुले संसदलाई किन सरकारले अपांग बनाइराखेको र राष्ट्रियसभाको बैठक किन नबोलाएको भन्दै प्रधानमन्त्रीसँग जिज्ञासा राखेको वरिष्ठ नेता पौडलले जानकारी दिए । उनले भने, ‘आफ्नो कुर्सी मात्र बचाउनु भन्दा पनि व्यवस्था बचाउन लाग्नु भनेर ओलीजीलाई भन्यौं । देशलाई निकास चाहिन्छ । आफ्नो कुर्सी बचे मात्र व्यवस्था बच्ने नत्र नबच्ने सोच त्याग्नुपर्छ । यत्रो लडेर ल्याएको लोकतन्त्र छ यो व्यवस्थामाथि किन खेलबाड हुन्छ ? देशलाई निकास चाहिन्छ भन्ने हाम्रो भनाइ हो ।हामीले आफ्ना कुरा स्पष्टसँग राखेका छौं।’

बैठकमा कांग्रेस नेताहरुले एमसीसी संसदमा छलफलमा ल्याउन र केही कमजोरी भए संसदले नै सच्याउने बताएका थिए । त्यस्तै कोभिड नियन्त्रणका लागि लकडाउनमा नगई रोकथामका विधि अपनाउन सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेस वरिष्ठ नेता पौडेलले आइसोलेसन सेन्टर थप्न र महामारी नियन्त्रणका लागि अन्य विधि अपनाउन गम्भीर हुन सरकारलाई आग्रह गरेको जानकारी दिएका छन् । बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरु भने सहभागी भएका थिएनन् ।

 

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *