अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरी अधिकारी पक्राउ

अमेरिकाको मिनसोटामा एकजना सवारी चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतमाथि गैरन्यायिक हत्याको मुद्दा चलाइने भएको छ । ती प्रहरी अधिकारी किम पोटरलाई गिरफ्तार गरी हिरासतमा राखिएको छ । पोटरले चाहिँ २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको बताएकी छन् ।

उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन् । त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग भएको बताएका छन् ।

पोटर र प्रहरी प्रमुख टिम गानन्ले ब्रुकलिन सेन्टर फौज छाडेका छन् । उक्त हत्याले त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको छ । उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो ।

त्यहाँ गत वर्ष मारिएका अश्वेत जोर्ज फ्लोइडको हत्याको आरोप लागेका एकजना श्वेत पूर्वअधिकारीमाथि सुनुवाइ हुने क्रममा त्यहाँ तनाव बढेको थियो । मिनसोटाको ब्यूरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) ले पोटरलाई बुधवार गिरफ्तार गरिएको जनाएको छ ।

उक्त मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्षसम्म कैद र २० हजार डलरसम्म जरिवाना हुनसक्छ । राइटको हत्यापछि उक्त क्षेत्रका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपतकाल घोषणा गरेका थिए र रात्रिकालीन कर्फ्यु लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *