काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदीय समितिमा हेरफेर गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले समितिका सदस्यको हेरफेर सम्बन्धी सूचना सुनाएका थिए ।
नेकपा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरालाई अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समिति सदस्य बनाइएको छ । नेकपा एमालेका सांसद घनश्याम भुसाल अर्थ समिति र योगेश भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिको सदस्य बनाइएको छ ।
त्यस्तै माओवादी केन्द्रका वर्षमान पुन अर्थ समिति, विना मगरले विकास तथा प्रविधि तथा गिरिराजमणि पोखरेल शिक्षा समितिमा गएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिबाट कानून, न्याय तथा मानव अधिकार समितिमा गएका छन् । माओवादीकै पम्फा भुसाल पनि राज्य व्यवस्था समितिबाट सार्वजनिक लेखा समितिमा सरेकी छन् ।
नेकपा एमालेका गोकुल बाँस्कोटा सार्वजनिक लेखा समितिमा गएका छन् भने महेश बस्नेत राज्य व्यवस्था समितिमा गएका छन् । बास्कोटा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए । बास्कोटालाई कारबाहीका लागि लेखा समितिले अख्यितारलाई पत्र लेखेको थियो । अहिले तिनै बास्कोटालाई लेखा समिति सदस्य बनाइएको छ ।
