प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले शानदार जित निलालेको छ । गएराति भएको खेलमा युनाइटेडले टोटेन्हामलाई ३–१ गोलले पराजित गरेको हो ।
हट्स्पर रंगशालामा भएको खेलमा युनाइटेडलाई जित दिलाउन फ्रेड, एडिन्सोन काभानी र मेसोन ग्रिनवुडले एक÷एक गोल गरे । टोटेन्हामको लागि ह्युङ मीन सनले एक गोल गरे । खेलमा शुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । पहिलो हाफको ४० औं मिनेटमा लुकास मोउराको पासमा सनले गोल गर्दै टोटेन्हामलाई खेलमा अगाडि बढाएका थिए ।
५७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ७९ औं मिनेटमा ग्रिनवुडको पासमा काभानीले गोल गर्दै युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको अतिरिक्त समयमा पोग्वाको पासमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई ३–१ गोलको पुनरागमन जित दिलाए ।
जितसँगै युनाइटेड ३१ खेलमा ६३ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । पराजित टोटेन्हाम ३१ खेलमा ४९ अङ्क जोड्दै सातौं स्थानमा यथावत छ ।
