वासिङटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ विरुद्धको खोप आफ्नो नाममा राखिनुपर्ने बताएका छन् । शनिबारको एक कार्यक्रममा उनले सबैका सामु आफूलाई खोपको श्रेय दिँदै त्यसको नाम ‘ट्रम्पसिन’ भन्ने नामसमेत सुझाव दिएका छन् ।
कार्यक्रममा उपस्थित सीएनएनका एक रिपोर्टरले ट्रम्पको भनाइलाई ट्वीटर पोस्ट गरेका थिए । रिपब्लिकन पार्टीका डोनरहरुको उपस्थितिमा उनले यस्तो भनेका हुन् ।
टम्पले पूर्वउपराष्ट्रपति माइक पेन्सप्रति आफ्नो पक्ष लिन पर्याप्त बहादुरी नदेखाएको भन्दै गुनासो पोखेका छन् । उनले भने, “मलाई उनी एकदमै मनपर्थे । तर उनले मलाई निराश पारे ।” ट्रम्पका अनुसार अझैपनि अधिकांश डेमोक्रेट्सहरुले उनले नै चुनाव जितेको मान्छन् तर बाहिर ठूलो आवाजमा भन्न सक्दैनन् ।
उनले सिमाना पार गरिरहेका आप्रवासीलाई अवैध, हिंसात्मक अपराधीकाे संज्ञा दिएका छन् । उनले भने, “उनीहरुले आफ्ना सबैभन्दा राम्रा मान्छे हामीकहाँ पठाएका होइनन् । त्यहाँ हत्यारा, बलात्कारी र ड्रग डिलरहरु छन् ।”
२०२४ को राष्ट्रपति चुनावमा लड्ने सम्बन्धी चाहिँ ट्रम्पले कार्यक्रममा कुनै उल्लेख गरेका छैनन् । उनीसँगै उनको प्रशासनका पूर्वराज्यसचिव माइक पोम्पेओले पनि चुनाव लड्नसक्ने बताइएको छ ।
ट्रम्पले २०२० को चुनावमा हारे पनि रिपब्लिकन राजनीतिमा ट्रम्पको सक्रिय भूमिका अन्य पूर्वराष्ट्रपतिहरुभन्दा धेरै फरक देखिएको छ । उनीबाहेक सबै पूर्वराष्ट्रपतिहरु ह्वाइटहाउसबाट बाहिरिएपछि सबैको केन्द्रबाट टाढिएको समाचार डेलीमेलले लेखेको छ ।
