सरकार भरसक बन्दाबन्दी नगर्ने पक्षमा : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताएका हुन् ।

उनले भने,“विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।”

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गरे ।

“महामारीले थिलोथिलो बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कने वातावरण बनिरहेकामा पुनः कोभिडको अत्यासलाग्दो परिस्थितिले झस्काएको छ, छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खु्ला सिमाना, रहनसहन भएको मुलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी (नेपाल) १०० भन्दा कम सङ्ख्यामा झरिसकेको अवस्थामा हिजोआज ३०० भन्दा बढी सङ्क्रमित भेटिनु निकै चिन्ताको विषय हो”, उनले भने ।

पर्यटनमन्त्री ढकालले छ हजार माथिका २७ चुली (पिक) को आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एनएमएलाई यसका अतिरिक्त अझै विस्तार गर्नेतर्फ सरकार सकारात्मक रहेको तथा सोको पहालकदमी गर्न पर्यटन मन्त्रालय तयार रहेको बताए ।

उनले पर्वतारोहण क्षेत्रमा कुनै नीति तथा कानूनी समस्या र उल्झन भए त्यसको सहजीकरण गर्न आफू तत्पर रहेको वचन दिए । पर्यटन क्षेत्रको समृद्धि र विकासका निम्ति सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारिनुपर्नेमा पनि पर्यटनमन्त्रीको जोड थियो ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गरे ।

उनले पर्वतारोहणकै इतिहासमा पहिलोपटक माउन्टेन गाइड लाइसेन्सको व्यवस्था गर्न सफल भएको तथा नेपालमा खुला गरिएका ४१४ हिमाल र पिकको प्रोफाइल तयार गर्न सफल भएको जानकारी दिए ।

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार पत्रकारद्वय जगदिश तिवारी र अर्जुन पाख्रिनलाई प्रदान गरिएको छ भने सबैभन्दा बढी रोयल्टी बुझाउने १० कम्पनीलाई पनि सम्मान गरिएको छ । साधारणसभाले आगामी नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति घोषणा गर्नुका साथै महासचिव कुलबहादुर गुरुङ र कोषाध्यक्ष सुदर्शन न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *