काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापालाई गृहमन्त्री बनाएर आफूले गल्ती गरेको बताएका छन् ।
मंगलबार रुकुम पश्चिममा आयोजित जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७० सालको चुनावमा आफूमाथि वम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका हुन् ।
उनले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताए । उनले आगामी दिनमा अब त्यसो हुन नदिनेसमेत बताए ।
उनले भने, ‘२०७० को संविधानसभाको निर्वाचन मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ । म त्यतिबेला केही सेकण्डले जोगिएको थिएँ । पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेँ ।’ उनले लोकतन्त्रमाथि षड्यन्त्र गर्ने काम नरोकिएको भन्दै जनताले खबरदारी गरिरहनुपर्ने बताए ।
