USAID

दमौली खानेपानीद्वारा नगर विकासलाई नौ करोड भुक्तान गर्न बाँकी

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा खानेपानी उपलब्ध गराउँदै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई नौ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले नौ करोड पाँच लाख ३७ हजार २६४ भुक्तानी गर्नुपर्ने देखिएको हो । विसं २०७० असार २० गतेको सम्झौताअनुसार नगर विकास कोषले संस्थालाई १२ करोड दुई लाख ७७ हजार १७४ ऋण दिएकामा दुई करोड ९७ लाख ३९ हजार ९०९ भुक्तान भइसकेको छ ।

साथै संस्थाले हालसम्मको एक करोड ९२ लाख ५२ हजार ७८८ ब्याज भुक्तानी गरिसकेको खानेपानी संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए । खानेपानी आयोजना निर्माणका क्रममा नेपाल सरकारको ५० प्रतिशतले हुन आउने १२ करोड ६७ लाख ३२ हजार २९६, उपभोक्ता संस्थाको १२ करोड ६७ लाख ३२ हजार २९६ लगानी गरिएको थियो ।

त्यसमध्ये पनि १२ करोड दुई लाख ७७ हजार १७४ संस्थाले र ६४ लाख ५५ हजार १२२ जनताबाट उठाइएको थियो । दमौली खानेपानी संस्थाले व्यास नगरपालिका–२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । यी तीनवटा वडामा तीन हजार ४०६ निजी धारा र १२० कार्यालय सङ्घसंस्था गरी तीन हजार ५२६ धारा जडान गरिएको छ ।

आयोजनाको मुख्य स्रोतहरू गुणादी वाराही मूल खानेपानी मुहानदेखि फिल्टर ट्याङ्कीसम्म ९.२ किलोमिटर, मादी नदी सम्वेलबाट बाघभञ्ज्याङ फिल्टर ट्याङ्कीसम्म ०.९५ किलोमिटर, बाघभञ्ज्याङबाट फिल्टर ट्याङ्कीबाट साँखरसम्म १.१९५ किलोमिटर र साँखरबाट शीतलचोक ट्याङ्कीसम्म ०.४४० किलोमिटर हुन् ।

आयोजनाअन्तर्गत दुईवटा इन्टेक, तीनवटा ग्रिट च्याम्वर, पाँचवटा पानीपोखरी, पानी प्रशोधन प्रणाली, २.६३ किमी मुख्य प्रसारण लाइन, ६२ किलोमिटर वितरण पाइप सञ्चालनमा रहेको छ ।

मादी नदीबाट पम्पिङ प्रणालीबाट पानी तानेर फिल्टर गरी वितरण गर्ने उद्देश्यसहित विसं २०६९ पुस २० गते चार पक्षबीच सम्झौता भएको थियो । आयोजनाको निर्माण विसं २०७५ असार मसान्तमा सम्पन्न भएको थियो । हाल दमौली बजारमा दैनिक ३१ लाख लिटर पानी आवश्यक पर्ने भए पनि आवश्यकतानुसारको वितरण हुन नसकेको गिरीले बताए ।

“केही हदसम्म खानेपानीको अभाव हटाउन यस आयोजनाले सहयोग गरे पनि पर्याप्त खानेपानी उपलब्ध गराउन सकिएको थिएन, अझै पनि मालपोत लाइन र देउरालीनगरमा पानी अभाव यथावत छ”, उनले भने, “उक्त क्षेत्रमा सहजरूपमा खानेपानी उपलब्ध गराउन समिति लागिपरेको छ ।”

संस्थाले ० देखि ७ युनिटसम्म न्यूनतम १०० रुपैयाँ महसुल दर निर्धारण गरेको छ । साथै आठदेखि १० युनिटसम्म प्रतियुनिट २५, ११ देखि १५ सम्म प्रतियुनिट ३०, १६ देखि २० सम्म प्रतियुनिट ३५, २१ देखि २५ सम्म प्रतियुनिट ४०, २६ देखि ३० सम्म प्रतियुनिट ४५ र ३१ माथि प्रतियुनिट ५० रुपैयाँ कायम गरिएको छ ।

संस्थाले व्यास नगरपालिका–२, ३ र ४ का सम्पूर्ण क्षेत्रमा खानेपानी सेवा सञ्चालनलाई निरन्तरताका दिनुका साथै गुणादी मुहानलाई व्यवस्थित गर्ने, जनसङ्ख्याको बढ्दो चापलाई मध्यनजर गर्दै बजारमा पर्याप्त खानेपानी उपलब्ध गराउन नयाँ स्रोतको खोजी गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *