प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ को युरोपेली छनोट अन्तर्गत भएको खेलमा बेल्जियमले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन लिएन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई/दुई गोल गर्दा जेरेमी डोकु, डेन्निस प्रेट, मिची बात्सुआई र क्रिस्टेन बेन्टेकेले एक/एक गोल गरे । खेलको पुरा समय आफ्नो पकडमा राखेको बेल्जियमले दुवै हाफमा चार/चार गोल गरेको थियो । १४ औं मिनेटमा डोकुको पासमा बात्सुआईले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । १७ औं मिनेटमा थोमस मुनिएरको पासमा हान्स भनाकेनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
३८ औं मिनेटमा भनाकेनको पासमा ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई ३-० गोलको अग्रता दिलाए । ४२ औं मिनेटमा प्रेटको पासमा डोकुले गोल गरेपछि बेल्जियम्ले पहिलो हाफमा ४-० गोलको अग्रता लिएको थियो । दोस्रो हाफको ४९ औं मिनेटमा बात्सुआईको पासमा पेरेटले गोल गरेपछि बेल्जियम फराकिलो जिततर्फ अगाडि बढेको हो ।

७० औं मिनेटमा एल्डेर्विरेडको पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बेक्न्टेकेले गोल गर्दै बेल्जियमलाई ६-० गोलको अग्रता दिलाए । ७६ औं मिनेटमा डोकुको पासमा ट्रोसार्ड व्यक्तिगत गोल गर्दा घरेलु टोलीले खेलमा ७-० गोलको अग्रता लिएको थियो ।
यस्तै ८९ औं मिनेटमा एड्नान जानुजाको पासमा हान्स भनाकेनले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ८-० गोलको फराकिलो जित दिलाए । जितसँगै समुह ‘ई’ मा रहेको बेल्जियम ३ खेलमा ७ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ ।
