प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका खेलाडी विराज महर्जनले अन्तराष्ट्रिय फूटबलबाट सन्यास लिएका छन् । महर्जनले सोमबार थ्री नेसन्स लिग अन्तर्गत बंगलादेशसँग भएको फाइनल खेलको ८९ औं मिनेटमा मैदान छिर्दै अन्तराष्ट्रिय फूटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
विराजको बिदाई अन्य खेलाडीको भन्दा सुखद रह्यो भन्दा फरक पर्नेछैन । थ्री नेसन्स लिगको समुह चरणको दुई खेलमा बेन्चमा रहेका विराज फाइनल खेलमा मैदान प्रवेश गरे । मैदानमा कप्तानको जिम्मेवारी निर्वाह गरिरहेका किरण चेम्जोङले विराजको सम्मानमा कप्तानको आर्म ब्यान्ड झिकेर रोहितलाई दिए र उक्त आर्मब्यान्ड रोहितले विराजको पाखुरामा बानिदिए । विराजको लागि यो सानो सम्मान भने हैन ।

विराजको सपना थियो, घरेलु दर्शकको माझ अन्तिम खेल खेल्दै अन्तराष्ट्रिय खेलजीवनबाट सन्यास लिने । उनको सपना पुरा भयो । नेपाली फूटबल टोली र समर्थकले उनलाई भव्य बिदाई गरे, त्यो पनि थ्री नेसन्स कपको ट्रफीसहित । खेल समाप्त भएपछि भावुक देखिएका विराजलाई खेलाडीहरुले काँधमा बोकेर मैदान घुमाएका थिए । विराजलाई ट्रफीसहित बिदाई गर्न पाउँदा आफु एकदमै खुशी रहेको गोलरक्षक किरण चेम्जोङ्ले बताए ।
३० वर्षिय विराज नेपाली फूटबलका सफल कप्तानका रुपमा चिनिन्छन् । नेपाली राष्ट्रिय फूटबल टोलीका लागि ७३ खेल खेलेका विराजले एक गोल गरेका छन् । विराजले सन् २००८ मार्च २५ मा पोखरामा पाकिस्तातविरुद्व भएको खेलमा नेपालको लागि डेब्यु गरेका उनले गोलको लागि भने एक वर्ष कुर्नु परेको थियो । सन् २००९ मा किर्गिस्तानविरुद्व विराजले नेपालको लागि गोल गरेका थिए ।

सन् २०१५ मा विराजले पहिलो पटक साफ च्याम्पियन्स सिपमा भारतविरुद्ध नेपालको कप्तानी समालेका थिए । उपाधि खडेरी लागेको अवस्थामा नेपालले विराजको कप्तानीमा बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद(साग) र एएफसी सोलिडारिटी कप जितेको थियो । त्यसलेपनि उनलाई नेपाली फूटबलमा एक सफल कप्तानको रुपमा लिईएको हो ।
हाल घरेलु फूटबलमा मछिन्द्र क्लबसँग आबद्ध रहेका विराजले गत सिजन मछिन्द्रलाई सहिद स्मारक ए डिभिजन लिगको उपाधि दिलाएका थिए । सन् २००७ मा थ्री स्टार क्लबबाट खेल्दै खेल जिवनको शुरुवात गरेका विराजले मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबाट खेलिसकेका छन् । अन्तराष्ट्रिय खेलजीवनबाट सन्यास लिएपनि विराजले घरेलु फूटबलमा भने आफ्नो यात्रालाई निरन्तरता दिनेछन् ।
